पार्टी विरोधी गतिविधिको आरोपमा डा. ईन्द्रबहादुर भण्डारी साधारण सदस्यसमेत नरहने गरी निष्कासित
दिनेश ठाकुर, बाँके, असोज १३ — नेपाली कम्युनिस्ट पार्टी जिल्ला समिति बाँकेले पार्टी विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा डा. ईन्द्रबहादुर भण्डारीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ।
खजुरा गाउँपालिका–३ निवासी तथा पार्टी सदस्य डा. भण्डारीले पार्टीको नीति, अनुशासन र हितविपरीत गतिविधि गरेको जिल्ला कमिटीले जनाएको छ। जिल्ला समितिका अनुसार उहाँका गतिविधि पार्टीको अन्तरिम विधान–२०८२ विपरीत रहेको ठहर गर्दै अनुशासनको कारबाही गरिएको हो।
जिल्ला समितिले नेपाली कम्युनिस्ट पार्टीको अन्तरिम विधान–२०८२ को परिच्छेद–२० अन्तर्गत धारा १०५ का उपधारा (क), (ख), (ग), (घ) र (ङ) बमोजिम अनुशासन उल्लंघन गरेको ठहर गरेको जनाएको छ।
त्यसैगरी, विधानको धारा १०६ मा व्यवस्था भएअनुसार डा. भण्डारीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जिल्ला समितिले सार्वजनिक गरेको पत्रमा उल्लेख छ।
कारबाहीसम्बन्धी उक्त पत्रको बोधार्थ नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश कमिटी, देउखुरी दाङलाई समेत पठाइएको छ।
जिल्ला समितिबाट सार्वजनिक गरिएको अनुशासनसम्बन्धी पत्रमा बाँके जिल्ला कमिटीका सह–संयोजक दलसिंहनाथ योगी र संयोजक दीपक जीएमले हस्ताक्षर गर्नुभएको छ।


