१ श्रावण २०८३, शुक्रबार

प्रचण्डले भने–यो सरकार ढली नै हाल्छ, म रिल्याक्स गरिरहेको छु

एसीपी संवाददाता

१ माघ २०८१, मंगलवार १३:२२ मा प्रकाशित

१ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफैंले आफ्नो आयु छोट्याइरहेको बताएका छन् । त्यसैले यो सरकार धेरै नटिक्ने घोषणा समेत उनले गरे ।

सिन्धुपाल्चोकको सुकुटेमा आज पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको, सत्ता साझेदार कांग्रेसभित्रै असन्तुष्टि रहेको र अलोकप्रिय काम गरेकाले ढल्ने निश्चित भएको जिकिर गरे । ‘अप्राकृतिक भएको हुनाले अन्ततः यो ढल्नु नै छ । ढली नै हाल्छ । हामीले धेरै बलै गर्नुपर्दैन । यसको आयु धेरै छ जस्तो चाहिँ मलाई लाग्या छैन,’ प्रचण्डले भने ।

‘मैले मिति त तोक्न सक्ने कुरा पनि होइन, मिल्ने कुरा पनि होइन,’ उनले थपे, ‘सबै घटनाक्रम तपाईंहरुले जे देखिराख्नु भाछ नेपाली कांग्रेस भित्रै सरकारप्रति जबर्जस्त असन्तुष्टि, धेरै नेताहरुको, संस्थापनमै भएका नेताहरुको पनि असन्तुष्टि बाहिर आइ नै सकेको छ । त्यो स्थितिमा यो सरकार सहज ढंगले जाने अवस्था छैन ।’

पछिल्लो घटनाक्रमलाई गम्भीर रुपले हेरिरहेको भन्दै प्रचण्डले सरकार गिराउने र सत्तामा जाने खेलमा भने नलागेको जिकिर गरे । उनले अहिले आफूले ‘रिल्याक्स’ गरिरहेको बताए ।

‘हाम्रो पार्टीले अहिले नै सरकार गिराउने, तुरुन्तै सरकारमा जाने भनेर एक्सरसाइज गरेका छैनौं । तपाईंहरु प्रष्ट हुनुहोला । हामी अहिले जनताको बीचमा संगठन सुदृढ गर्ने अभियानमा छौं,’ उनले भने, ‘स्थानीय तहदेखि नै भेला सम्मेलन भैराख्या छन् । र जनताले त्यसलाई राम्रो पनि मानिरहेका छन् । हामीले पनि रिल्याक्स गर्‍या छौं ।’ उनले आफूले प्रधानमन्त्री हुनुभन्दा अहिले बढी सहज महसुस गरिरहेको बताए ।

तर यो सरकार टिकिराखोस् भन्ने चाहना आफूहरुको नरहेको प्रचण्डले बताए । ‘यसको अर्थ के चाहिँ होइन भने फेरि यो सरकार टिकिराखोस् भन्ने हाम्रो उद्देश्य हैन, अप्राकृतिक, अलोकतान्त्रिक र असंवैधानिक भनिसकेपछि त्यो रहिराखोस् भन्ने हाम्रो चाहना हुँदैन,’ उनले भने, ‘अहिले जसरी सरकार चलिहरेको छ, त्यसले पनि सरकारको आयु झन् छोट्याइरहेको छ । आफैंले छोट्यायो भन्ने लाग्या छ ।’ अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x