प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेद्वारा बधाई, सम्मान कार्यक्रम
नेपालगञ्ज । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले बधाई, सम्मान तथा व्यवसायी उत्प्रेरणा कार्यक्रम गरेको छ । संघका अध्यक्ष सञ्जय थापाको सभापतित्व एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको प्रमुख आतिथ्यतामा आज कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कोहलपुर उद्योग बाणिज्य संघमा नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरु, नेपाल पत्रकार महासंघ महासंघ लुम्बिनी प्रदेश तथा बाँके शाखाका नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरु, केन्द्रिय परिषद सदस्य, लुम्बिनी प्रदेश परिषद सदस्य र नेपाल बार काउन्सिलमा लुम्बिनी प्रदेशको तर्फबाट परिषद सदस्य पार्षद पदमा निर्वाचितलाई कांग्रेस जिल्ला सभापति गौडेल, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका बाँके अध्यक्ष थापा, कांग्रेस जिल्ला उपसभापति गोपाल प्रसाद अधिकारी, वरिष्ठ उद्योगपति प्रदिप छाछेड लगायतले सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस बाँकेका सभापति गौडेलले कांग्रेस सधैं व्यवसायीहरुको साथमा रहेको बताए । ‘नेपालगञ्ज सहर औद्योगिक सहर हो, यहाँ थुप्रै सम्भावनाहरु छन्, गौडेलले भने-‘अतः यसका लागि हामी सबै एक भएर व्यवसायिक हितका निम्ति नीति निर्माणमा दबाब दिने गरी अघि बढ्नुपर्दछ, बाँके कांग्रेस सधैं व्यवसायीहरुको पक्षमा छ ।’ नेपाल कांग्रेस बाँकेका उपसभापति अधिकारीले सरकारले व्यवसायमा समस्या ल्याउने कानुन संशोधन गरेर व्यवसाय सहजरुपमा गर्ने बातावरण बनाउनुपर्ने बताए । सोही कार्यक्रममा जडिबुटी व्यवसायी संघ नेपालका अध्यक्ष टंक प्रसाद शर्मालाई विशेष सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराईले देशको आर्थिक अवस्था चिन्ताजनक भएको बताउँदै देशको आर्थिक अवस्थालाई सुधार गर्नुपर्ने दायित्व प्रजातान्त्रिक उद्योगी व्यवसायीहरुको काँधमा आएको बताए । त्यसक्रममा उत्प्रेरक बक्ता रविकिरण श्रेष्ठले उद्योग व्यापारमा सकारात्मक सोच विकास गर्न सकिए सफलता प्राप्त गर्न सकिने सन्देशसहित उत्प्रेरणात्मक प्रवचन दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस कोहलपुर सभापति विरेन्द्र कुमार शाह, वरिष्ठ उद्योगपति छाछेड, नेपाल बार काउन्सिलमा लुम्बिनी प्रदेशको तर्फबाट परिषद सदस्य पार्षद ईश्वरी प्रसाद ज्ञवाली, नेपाल प्रेस युनियन केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका उपाध्यक्ष प्रदिप गुप्ता, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका प्रवक्ता मख्खन धामी, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगञ्ज उपमहानगरपालिका नगर अध्यक्ष शिव प्रसाद दाहाल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष गोपाल गिरी, लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण संघका सचिव हिमनाथ पौडेलले गरेका थिए ।



