३२ असार २०८३, बिहीबार

प्रदर्शनमा ६ हजार सुरक्षाकर्मी खटिए, एमाले र राजावादीको भेट हुन नदिने

एसीपी संवाददाता

१६ जेष्ठ २०८२, बिहीबार १२:०३ मा प्रकाशित

सत्तामा रहेको पार्टी एमालेले जेठ १५ कै मितिलाई छनौट गरेर गणतन्त्र स्थापनाको उत्सव मनाउने र राजावादीहरूले गणतन्त्र स्थापनाको दिनलाई पारेर शान्तिपूर्ण आन्दोलन गर्ने भएपछि दुवै पक्षलाई भेट हुन नदिने गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।‘ काठमाडौंमा अप्रिय घटना हुन नदिने गरी सुरक्षाकर्मी परिचालन भएको छ’, जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले भने।

उता नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी घोषित अघोषित गरी ६ हजार सुरक्षाकर्मी परिचालित भएका छन् । ‘पर्याप्त संख्यामा प्रहरी परिचालन गरिएको छ’, केन्द्रीय प्रहरी प्रवक्ता रमेश थापाले भने । उनका अनुसार काठमाडौं उपत्यकामा सबै स्थानमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । यता सशस्त्र प्रहरीले पनि अघिल्लो पटक भन्दा यसपटक अलि सजग भएर परिचालन गरेको जनाएको छ । ‘जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सशस्त्र प्रहरी अन्य सुरक्षा अंगसँग समन्वय गरेर परिचालित भएको छ’, सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले भने ।

आज नेकपा एमाले झाँकी सहितको सांस्कृति प्रदर्शनक गर्ने जनाएको छ। पूर्वपञ्च नवराज सुबेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिको अगुवाइ र सबै राजावादी नेताहरुको समेत सहभागीमा प्रदर्शन हुन लागेको हो । राजावादीहरूले पनि उपत्यका बाहिरबाट समेत मानिसहरू ल्याएर काठमाडौंमा शक्ति प्रदर्शन गर्ने र आन्दोलनलाई काठामाडौं केन्द्रीत गर्ने भएका छन् । उनीहरुलाई २ बजेपछि प्रदर्शन गर्ने अनुमति दिइएको छ ।

राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन निरन्तर जारी राख्ने उनीहरूको धम्की र सरकारमा रहेको एमालेको प्रदर्शनले मुठभेड निम्त्याउन सक्ने सम्भावना रहेको भन्दै सुरक्षा अंगले विशेष सजकता अपनाएको छ । चैत १५ गते राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले विशेष सजकता अपनाएका हुन् । काठमाडौं प्रहरी परिसरले पनि विशेष सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।

यो विषयमा बुधबार बिहान उपत्यका प्रहरी कार्यालयले सबै युनिटलाई सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न निर्देशन दिएको छ ।नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार बिहान उपत्यका प्रहरी कार्यालय मातहतका सबै कार्यालयका प्रमुखलाई बोलाएर सो निर्देशन दिएका हुन्। कार्यक्रममा काठमाडौँ प्रहरी प्रमुख, ललितपुर प्रहरी प्रमुख र भक्तपुर प्रहरी प्रमुखहरूलाई चैत १५ नदोहोरियोस् भन्ने निर्देशन दिएका थिए ।

यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, विमानस्थल सुरक्षा कार्यालयका प्रमुख र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख पनि छलफलमा सहभागी गराइएको थियो । कार्यक्रममा एआईजी टेकबहादुर तामाङले काठमाडौँ उपत्यकामा हुने कुनै पनि विरोध प्रदर्शनको कार्यक्रममा भिड नियन्त्रणमा अग्र पङ्क्तिमा खटिने प्रहरी कर्मचारीलाई सामूहिक भावनाका साथ ऐक्यबद्ध भई उच्च मनोबलका साथ पूर्ण व्यवसायिक तवरले काम गर्न निर्देशन दिएका थिए।

बल प्रयोग गर्नुपर्ने अवस्थामा अवलम्बन गर्नु पर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको ख्याल गर्न पनि तामाङले इन्चार्जहरूलाई निर्देशन दिएका छन् । यसअघि चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेको थियो । त्यति बेला प्रहरीको भूमिकामा प्रश्न उठेको थियो । प्रहरीले गलत समयमा बल प्रयोग गरेको र जति बेला क्षति भयो त्यसलाई रोक्न नसकेको भन्दै आलोचना भएको थियो । नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x