प्रधानमन्त्री ओलीद्वारा जनमतसंग्रहको तयारी तीब्र संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र भयो मुख्य एजेन्डा
संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतसंग्रहको तयारी गरेका छन्।
वैशाख १७ गते मध्यावधि निर्वाचन घोषणा गरेका ओलीले त्यसअगावै संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति एजेण्डामा जनमतसंग्रह गराउन लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ। विगतमा संविधान बनाउँदा संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रका पक्षमा जनमत संग्रह भएको थिएन। जनमत संग्रहको माग भए पनि सुनिएन।
अब भने ओली सरकारले आफै चारवटै एजेण्डामा जनमतसंग्रह गराउने भएको हो। अहिले पनि संघीयता र धर्मनिरपेक्षताविरुद्ध जनताले आवाज उठाउँदै आएका छन्।
नेपाली कांग्रेसभित्रकै केही नेताले हिन्दु राष्ट्रमा जनमतसंग्रहको माग गर्दै आएका छन्। चित्रबहादुर केसीजस्ता नेताले संघीयता खारेजीको माग गर्दै आएका छन्। संविधानविद्हरु र जनताले पनि संघीयता रुचाएको देखिँदैन। यस्तोमा ओलीले जनमतसंग्रह गर्दा यो निर्णय स्वागतयोग्य हुने आंकलन गरिएको छ।
साथै जसपाले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको माग गर्दै आएको छ। पूर्वमाओवादीका नेता पनि यो एजेण्डा उठाउँदै आएका छन्। यस्तोमा ओलीले गर्ने जनमतसंग्रहमा पूर्वमाओवादी नेताहरुको पनि साथ हुनेछ। साथै ओली कदमविरुद्धको आन्दोलन पनि मत्थर हुनेछ। किनकि जनमतसंग्रह जनताको राय लिनका लागि हुनेछ। यसमा जनताका लागि सडकमा आएको भन्नेहरुले बाधा गर्नेछैन।
बालुवाटार स्रोतका अनुसार जनमतसंग्रहको खाका तयार भइरहेको छ। छिट्टै मिति घोषणा हुँदैछ। नेपालपाना बाट


