फुल्टेक्रा तलाउको संरक्षण तर्फ, अदालतको अग्रसरता ।
नेपालगञ्ज फुलटेक्रा स्थित ज.बि.११–३–२ मा फैलिएको बाँके जिल्ला कै ठूलो पोखरीलाई संरक्षणको लागि पुनराबेदन अदालत नेपालगञ्जले मिति २०७२।०३।१६ मा नेपालगञ्ज नगर पालिकाको नाममा आदेश जारी गरे तापनि सो आदेशको अवहेलना गरी पोखरीको अतिक्रमण हटाउने, पोखरीको सरसफाई गरी सार्वजनिक उपयोगमा ल्याउने तर्फ कुनै कार्य नगरी उल्टै संधैको लागि उक्त पोखरीको अस्तित्व समाप्त गर्ने उद्देश्यका साथ नेपालगञ्ज नगर पालिकाले उक्त पोखरीलाई बिभिन्न समुदायलाई बाँडफाँड गर्ने निर्णय गरेको थियो ।
प्रकृति संरक्षणको लागि अदालतले उक्त ऐतिहासिक पोखरीको संरक्षण गर्नलाई अदालतले गरेको आदेशलाई चुनौती दिंदै नगर पालिकाले पोखरीलाई बाँडफाँड गर्ने गरी गरेको निर्णय बिरुद्ध स्थानीवासीहरुले पुनः नगर पालिका उपर अदालतको अपहेलना मुद्दा दर्ता गरेकोमा उक्त मुद्दामा पोखरी संरक्षणको सन्दर्भमा उप–महानगर पालिकाबाट भएका काम कारवाहीको स्पष्ट बिवरण १५ दिन भित्र पठाउने भनी उच्च अदालत नेपालगञ्जले मिति २०७७।१०।२१ मा आदेश गरेकोमा सो आदेशलाई थप चुनौती दिंदै नगर पालिकाले उक्त पोखरीलाई मिति २०७७।११।०७ गते देखि पटान गर्ने कार्य शुरु गरेको ।
नेपालगञ्ज उप–महानगर पालिकाले अदालतको आदेशको थप अवमानना गरी अदालतलाई थप चुनौती दिएकोले अधिवक्ता घनश्याम पराजुली र बृजेश कुमार त्रिपाठी समेतका १३ जनाले फुल्टेक्रा तलाउलाई बाँडफाँड गर्ने गरी गरेको निर्णय कार्यान्वयन नगर्न नगराउन पोखरीको पानी नफाल्न, पोखरीमा माटो पटान नगर्न, पोखरीलाई बिभिन्न समुदायमा बाँडफाँड नगर्न, कित्ता काट नगर्न, बिभिन्न समुदायको नाममा जग्गा धनी दर्ता प्रमाण पुर्जा नबनाउनको लागि नेपालगञ्ज उप–महानगर पालिकाको कार्यालय, वडा नं.६ को कार्यालय, नापी कार्यालय तथा मालपोत कार्यालय बाँकेको नाममा आदेश जारी गरी पाउनको लागि उच्च अदालत नेपालगञ्जमा रिट निबेदन दर्ता गरेका थिए ।
उक्त निबेदनमा सुनुवाई गर्दै उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशका वरिष्ठतम् न्यायाधीश श्री रत्न बहादुर वागचन्दले सो कार्य गर्दै उक्त पोखरीमा अन्य निर्माण कार्य गर्ने बिषय सम्बन्धी निर्णयको कार्यान्वयन गर्ने एवं पोखरीमा कुनै संरचना निर्माणको लागि माटो पटान र पानी बाहिर फाल्ने कार्य तत्तकाल रोकी यथा स्थितीमा राखी थप कार्य नगर्नु नगराउनु भनी नेपालगञ्ज उप–महानगर पालिका समेतको नाऊँमा अन्तरिम आदेश गरेका छन ।
उक्त आदेशले पर्यावरणको संरक्षण गर्न चाहना राख्नेहरुलाई खुशी तुल्याएको छ भने तुष्टिकरणको राजनीति गर्ने नेपालगञ्ज उप–महानगर पालिकाका मेयर धवल शम्शेर राणालाई झटका दिएको छ । रिट निबेदकको तर्फबाट अधिवक्ताहरु बिश्वजीत तिवारी, राम कुमार दीक्षित, राकेश कुमार सोनी, राजेन्द्र कुमार बिश्वकर्माले बहस गरेका थिए । उक्त आदेश पर्यावरणको संरक्षणमा चट्टानी कदम भएको भनी सर्व साधारणले आदेशको स्वागत गर्दै नेपालगँञ्जमा रहेका अन्य पोखरीहरुको समेत सो आदेशले संरक्षण हुने छ भनी बिश्वास ब्यक्त गर्नुका साथै मासिएका पोखरीहरुको खोजी गर्न समेत पर्यावरणवादीहरुलाई आग्रह गरेका छन ।


