८ भाद्र २०८३, सोमबार

बर्दियाका पालिकाहरुमा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

एसीपी संवाददाता

८ भाद्र २०८३, सोमबार १०:५१ मा प्रकाशित

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन गर्ने कार्य शुरु गरिएको छ । सो क्रममा जिल्लाको बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन गरिएको हो ।
युवाहरूलाई एकताबद्ध गर्दै नेतृत्व विकास, सार्थक सहभागिता, सञ्जाल विस्तार, पैरवी तथा समुदायमा सकारात्मक सामाजिक रूपान्तरणका लागि सक्रिय बनाउने उद्देश्यले पालिकाहरुमा क्लबको गठन शुरु गरिएको जनाईएको छ ।
पूर्वसहभागी युवा क्लबको गठनसँगै सदस्यहरूको भूमिका तथा जिम्मेवारी, सञ्जाल विकास तथा पैरवी, अभियान निर्माण, व्यावसायिक क्लब व्यवस्थापन, युवा सहभागिता तथा युवाको नेतृत्वमा सामाजिक रूपान्तरणका पहलहरू सम्बन्धमा अभिमुखीकरणसमेत प्रदान गरिएको थियो ।
बढैयातालको कार्यक्रम उदघाटन सत्रमा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको उपस्थिति रहेको थियो भने गुलरिया नगरपालिकाको् कार्यक्रममा उपप्रमुख सावित्रा गौतम, महिला तथा बालबालिका विकास शाखा प्रमुख गीता बकावल तथा शिक्षा शाखाका प्रतिनिधि पुष्पलाल शर्मा लगायत विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
पालिकाका उपप्रमुख र उपाध्यक्षले युवाहरूलाई नेतृत्व, जिम्मेवारी र सकारात्मक कार्यलाई आत्मसात् गर्दै समुदायमा देखिने तथा दिगो परिवर्तनका लागि सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्नुभयो । साथै, स्थानीय सरकार तथा युवाबीचको सहकार्यलाई अझ सुदृढ गर्दै समुदाय विकासमा रचनात्मक योगदान पु¥याउन आग्रह गर्नुभयो ।
कार्यक्रमको सहजीकरण सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजकद्वय मनोज पौडेल र गोविन्द प्रसाद लामिछानेले गर्नुभएको थियो ।
बढैयातालको कार्यक्रममा फिल्ड सुपरभाइजर रामबहादुर थारु र भगवती बी.केको समेत उपस्थिति रहेको थियो भने गुलरियामा नगमा मनिहार र रामकली थारुको महत्वपूर्ण भूमिका रहेको थियो ।
गुलरिया नगरपालिकामा वडा नं. १, २, ४, ५, ६, ८, ११ र १२ बाट गरी जम्मा ३१ जना किशोरकिशोरी तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो । सो अवसरमा मील अफिसर धिरज कुमार चौधरी र प्रोजेक्ट प्रोटेक्सन अफिसर बिजय शर्माको पनि उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा दिपा चन्दको संयोजकत्वमा २५ सदस्यीय गुलरिया नगरपालिकास्तरीय संयुक्त पूर्वसहभागी युवा क्लब गठन गरिएको थियो ।
कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बर्दियाका सातवटै स्थानीय तहका विभिन्न क्लबका पूर्वसदस्यहरूलाई क्रमशः पूर्वसहभागी युवा क्लबमार्फत संगठित र जोड्दै लैजाने जानकारी दिनुभयो ।
सुरक्षित भविष्य परियोजना प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको संयुक्त साझेदारीमा बर्दियाका सात वटा पालिकामा सञ्चालन हुँदै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x