३२ असार २०८३, बिहीबार

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी

एसीपी संवाददाता

४ असार २०८२, बुधबार २२:१० मा प्रकाशित

बर्दिया, असार । बढैयाताल गाउँपालिका शिक्षा शाखाको समन्वय तथा सहकार्यमा बांके युनेस्को क्लबले बर्दियाको विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको (स्टिम) प्रदर्शनी गरेको छ। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा प्रयोगात्मक शिक्षा, सिर्जनशीलता र नवप्रवर्तनको प्रवर्द्धन गर्नु थियो।

नविनतम सामग्री तयार गरेका बढैयातालका १५ सामुदायिक विद्यालयका विद्यार्थीहरु प्रदर्शनीमा सहभागी भएका थिए । कार्यक्रम शिक्षा शाखा प्रमुख विश्वप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भयो । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । यस्तै सामाजिक विकास समितिका संयोजक तुलाराम चौधरी, विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू, विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघका अध्यक्षहरू, अभिभावकहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

प्रदर्शनीमा प्रस्तुत सामग्रीहरूको मूल्यांकन यमनाथ पौडेल, सुनील कुमार यादव र आशिष चौधरीले गर्नुभएको थियो। मूल्यांकनका आधारमा विजयी
जय कैलिका माध्यमिक विद्यालय प्रथम, भगवती माध्यमिक विद्यालय दोस्रो, अमर ज्योति माध्यमिक विद्यालय तेस्रो र भवानी माध्यमिक विद्यालयले सान्त्वना पुरस्कार प्रप्त गरेको छ ।

बाँके युनेस्को क्लबले सहभागी सबै विद्यालयहरूलाई शैक्षिक सामग्रीहरू र प्रमाणपत्र प्रदान गरेको थियो भने विजेता विद्यालयहरूलाई विशेष सामग्रीहरू र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा वडाध्यक्षहरू र गाउँपालिका उपाध्यक्षले आगामी वर्ष पनि पालिकाको पहलमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँहरुले पालिका पक्ष यस कार्यक्रमको कार्यान्वयन र निरन्तरताका लागि आउदो आर्थिक वर्षमा बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो।

कार्यक्रमका क्रममा एजिसी अध्यक्ष स्वातिका खड्काले युवा भेटघाट घोषणापत्र उपाध्यक्ष समक्ष बुझाउनु भएको थियो। क्लबका उप–निर्देशक गोविन्दप्रसाद लामिछानेले स्वागत मन्तव्य राख्नुका साथै कार्यक्रमको उद्देश्य माथि प्रकाश गर्नुभएको थियो।

आज सम्पन्न कार्यक्रमको एक झलक तस्बिर मा 

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x