७ भाद्र २०८३, आईतवार

बागेश्वरी मन्दिर परिसरमा ‘टिकटक रिल’ बनाउने क्रम बढेपछि भक्तजनमा आक्रोश, कारबाहीको माग

एसीपी संवाददाता

७ भाद्र २०८३, आईतवार १८:४९ मा प्रकाशित

नेपालगन्ज, बाँके — बाँकेको नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा पछिल्लो समय टिकटक (TikTok) र फेसबुक रिल (Reels) बनाउने होडबाजी चलेपछि स्थानीय श्रद्धालु तथा हिन्दु धर्मावलम्बीहरूले तीव्र आक्रोश व्यक्त गरेका छन्। पवित्र धार्मिक स्थललाई मनोरञ्जन र भाइरल हुने माध्यम बनाइएको भन्दै मन्दिर व्यवस्थापन समितिलाई कडा कदम चाल्न दबाब बढ्दै गएको छ।

सामाजिक सञ्जालमा विरोध र भक्तजनको गुनासो हालै ‘निशा कुमारी’ लगायतका केही प्रयोगकर्ताहरूले मन्दिरको प्राङ्गणमै गीतहरूमा नाच्दै र हाउभाउ देखाउँदै गरेका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गरेपछि विवाद चर्किएको हो।

हिन्दू अभियन्ता सौरब बर्मा लगायत स्थानीय हिन्दु समाज द्वारा सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्ता कार्यले धार्मिक आस्थामा गम्भीर चोट पुर्‍याएको बताएका छन्। उनीहरूले फेसबुक पोस्टमार्फत प्रश्न गरेका छन्— “यहाँ जस्तो व्यक्तिलाई बागेश्वरी मन्दिर व्यवस्थापन समितिले कुन हदसम्मको कारबाही गर्छ, हामी सम्पूर्ण बाँकेवासी हिन्दू धर्मप्रति आस्थावान समाज प्रतीक्षामा छौँ।” भक्तजनहरूले मन्दिर दर्शन र शान्तिका लागि जाने ठाउँ भएकोले यसलाई सुटिङ स्पट वा डान्स बार जस्तो बनाउन नहुने जिकिर गरेका छन्।

मन्दिर व्यवस्थापन समितिको कडा नियम
यस्ता गुनासा र विवादहरू बढ्न थालेपछि श्री बागेश्वरी मन्दिर परिवारले मन्दिरको पवित्रता र मर्यादा कायम राख्न केही कडा नियमहरू जारी गरेको छ।

शक्तिपीठ श्री बागेश्वरी मन्दिर र खदेश्वर जुङ्गे महादेवको मन्दिरमा गैर-हिन्दूहरूको प्रवेशमा निषेध गरिएको छ। मन्दिर परिसरभित्र अशिष्ट तथा असभ्य किसिमले टिकटक, रिल वा कुनै पनि प्रकारको भिडियोग्राफी बनाउन सख्त मनाही गरिएको छ। मन्दिरको पार्क क्षेत्रमा युगल जोडीहरूले अशिष्ट क्रियाकलाप गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

नेपाल र भारतका हजारौं भक्तजनको आस्थाको केन्द्र रहेको यस मन्दिरमा दैनिक रूपमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ। पौराणिक मान्यता अनुसार यहाँ सतीदेवीको जिब्रो पतन भएको हुँदा यसलाई साक्षात देवीको बासस्थान मानिन्छ। यस्तो पवित्र शक्तिपीठको आफ्नै नियम र मर्यादा हुने भएकाले, सामाजिक सञ्जालमा ‘भाइरल’ हुने नाममा मन्दिरको गरिमा घटाउने कार्यलाई तत्काल रोक्न नागरिक समाजले पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

1 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x