२२ आश्विन २०८३, बिहीबार

भारतको मोतिहारीबाट पाइप लाइनमार्फत आयल डिपोमा तेल ल्याउन गृहकार्य शुरु

एसीपी संवाददाता

२५ मंसिर २०७७, बिहीबार २३:०२ मा प्रकाशित

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य थालिएको छ। यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइनमार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउन थालिएको थियो।

अब एक वर्षभित्र सोही पाइप लाइनमार्फत पेट्रोल ल्याउन गृहकार्य शुरु गरिएको हो। निगमको सञ्चालक समितिले मोतिहारीबाट पेट्रोल पनि ल्याउन निगमलाई स्वीकृति दिएपछि काम अगाडि बढाइएको निगम प्रदेश नं २ को प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले जनाएको छ। कार्यालय प्रमुख भरत रेग्मीले भने, “४२ लाख लिटर पेट्रोल भण्डारण गर्ने क्षमताको दुईवटा पेट्रोल ट्याङ्की अमलेखगञ्ज डिपोमा तयार भइरहेको छ। दुई ट्याङ्कीमध्ये एउटा ट्याङ्की भारत सरकारले बनाउन लागेको छ भने एउटा ट्याङ्की आयल निगमले आफैँ बनाउने छ।”

ट्याङ्की निर्माण भएपछि एकपटकमा २४ ट्याङ्करमा स्वचालित उपकरणबाट तेल हाल्न सकिने छ। ट्याङ्की आगो नलागोस् भनेर तथा आगो लागेपछि सो आगो निभाउन ३०/३० लाख गरी पानी भण्डारण गर्ने दुईवटा ट्याङ्की तयार हुनेछ। साथै अत्याधुनिक प्रयोगशाला र २४ भ्याकरमा एकैपटक पेट्रोल लोड अनलोड गर्ने काम हुनेछन्।

नेपाल सरकारको करिव दुई अर्ब को लागतमा निर्माण भइरहेको सो पाइप लाइनमा अन्तर्राष्ट्रिय गुणस्तरको पाइप जडान गरिएको छ। साथै निर्माण भइरहेको पेट्रोल ट्याङ्करमा स्वचालित उपकरणबाट जाँच गर्न सकिने जनाइएको छ। पाइप लाइनमा पेट्रोल ल्याउन मोतिहारी तर्फ काम सम्पन्न भइसकेको बताइएको छ। भारतीय आयल कर्पोरेशन लिमिटेडले मोतिहारीमा भर्टिकल ट्याङ्क निर्माण गर्ने काम शुरु गरेको छ। यसैगरी अमलेखगञ्जस्थित निगमको कार्यालयमा पेट्रोल आपूर्ति गर्नका आवश्यक पर्ने पूर्वाधारको काम अगाडि बढाइएको छ।

कार्यालय हाताभित्र पश्चिमतर्फ रहेको छ बिघा क्षेत्रफलमा रहेको खाली जग्गामा आवश्यक कामहरु हुनेछन्। अहिले सो पाइपबाट भारत विहारको पटनामा पम्पिङ गरेर अमलेखगञ्ज डिपोमा डिजल आउने गरिएको छ। मोतिहारीमा पेट्रोल ल्याउने काम सम्पन्न भएपछि त्यहीबाट पम्पिङ गरेर पेट्रोल पनि ल्याइने छ।

प्रतिघण्टा तीन लाखदेखि चार लाख लिटरसम्म पेट्रोल आपूर्ति गर्न सकिने जनाइएको छ। पाइप लाइनबाट पेट्रोल आपूर्ति हुन थालेपछि ढुवानी खर्चमा बचत , प्राविधिक नोक्सानीको अन्त्य, शुद्धता कायम, चुहावट र मिसावट अन्त्य, प्रदूषण तथा वातावरणमा हुने क्षतिको अन्त्य, भन्सार नाकामा हुने ट्याङ्करको चापसमेत अन्त्य र पेट्रोलको अभाव पनि अन्त्य हुने विश्वास गरिएको छ। पहेंलोपोस्ट बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x