सुर्खेत — भारतीय तीर्थयात्रीको चापका कारण हुम्ला सदरमुकाम सिमकोट भरिभराउ भएको छ । तीर्थयात्राको सिजन सुरु भएसँगै पर्यटन व्यवसायी, होटल व्यवसायी, भरियालगायतलाई भ्याइनभ्याइ भएको हो । बुधबार मात्रै सिमकोट विमानस्थलमा १ सय ७० (दुईतर्फी) उडान भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नेपालगन्जबाट सिमकोटका लागि जहाजले २९ र सिमकोट–हिल्साका लागि हेलिकोप्टरले ५६ वटा उडान भरेका हुन् । तीर्थयात्रा सुरु भएको तीन सातामा २ हजार १ सय २४ भारतीयले कैलाश–मानसरोवर दर्शन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भारतीय पर्यटकहरु जहाजमार्फत नेपालगन्जबाट सिमकोट पुग्छन् भने सिमकोटबाट चीन सीमास्थित हिल्सासम्म हेलिकोप्टरमा जाने गरेका छन् । व्यवसायीहरुका अनुसार यो वर्ष झण्डै १६ हजार जना भारतीय पर्यटकले तीर्थयात्राका लागि ‘बुकिङ’ गराएका छन् । जिल्ला प्रहरी कार्यालयले हुम्ला भित्रिने पर्यटकहरुको तथ्यांक राख्ने गरेको छ । प्रहरीका अनुसार अहिलेसम्म करिब १ हजार २ सय पुरुष र ९ सय महिलाले मानसरोवर दर्शन गरेका हुन् ।




