२ श्रावण २०८३, शनिबार

भारतीय स्थलसेना प्रमुख जनरल एम.एम.नरवणेको भ्रमण फलदायी-नेपाली सेना

एसीपी संवाददाता

२२ कार्तिक २०७७, शनिबार ०६:०२ मा प्रकाशित

नेपाली सेनाले भारतीय स्थल सेना प्रमुख जनरल मनोजमुकुन्द नरवणेको भ्रमण फलदायी भएको बताएको छ । तीनदिने औपचारिक भ्रमण सकेर फर्केपछि सेनाले विज्ञप्ति जारी गर्दै भ्रमण सफल र फलदायी भएको जनाएको हो ।

नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्न नरवणे बुधबार तीनदिने औपचारिक भ्रमणमा काठमाडौं आएका थिए । उनले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्नुका साथै प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।
‘जंगीअड्डामा भएको औपचारिक भेटवार्तामा दुई प्रधानसेनापतिबीच आपसी सुरक्षा चासोका विषयमा खुला छलफल भएको थियो, यस्तै दुई सेनाबीच उच्चस्तरीय भ्रमण र तालिमलगायत अन्य सहयोगका क्षेत्रमा थप विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो,’ विज्ञप्तिमा भनिएको छ, दुवै प्रधानसेनापतिले दुई सेनाबीच परम्परागत सम्बन्धको चर्चा गर्दै उक्त सम्बन्ध सुदृढ गर्न यो भ्रमण फलदायी भएको उल्लेख गर्नुभयो ।’

भ्रमणको अन्तिम दिन नरवणेले माउन्टेन फ्लाइटबाट सगरमाथाको अवलोकन गर्नुका साथै शिवपुरीस्थित सैनिक स्टाफ कलेजका शिक्षार्थीसँग अन्तर्क्रियामा सहभागी बनेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी शुक्रबार नै नरवणे भारत फर्किएका छन् । भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेपछि बिग्रिएको दुई देशबीचको सम्बन्ध र अवरुद्धजस्तै बनेको कूटनीतिक वार्ता/छलफल नरवणेको यो औपचारिक भ्रमणले खुलाउने अपेक्षा गरिएको छ । इकान्तिपुर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x