भारत कश्मीरका मुजाहिदीन प्रमूख कमाण्डर सैफुल्लाह भिडन्तमा मारिए
फाइल तस्बिर
एजेन्सी – भारत प्रशासित कश्मीरका अधिकारीले आइतबार भारतीय सुरक्षाफौजसँगको भिडन्तमा चरमपन्थी समूह हिजबुल मुजाहिदीनका प्रमूख कमाण्डर सैफुल्लाह मारिएको जनाएका छन्।
भिडन्तमा मारिएका चरमपन्थी व्यक्ति हिजबुल मुजाहिदीनका अपरेसन चिफ कमान्डर सैफुल्लाह हुन्। हाम्रा लागि यो ठूलो सफलता हो’, समाचार एजेन्सी एएफपीसँग कश्मीरका प्रहरी महानिरीक्षक विजय कुमारले भने।
३१ वर्षीय सैफुल्लाह दक्षिण कश्मीरको पुलवामा, कुलगाम र शोपियाँ क्षेत्रमा सक्रिय थिए।
प्रहरीका अनुसार श्रीनगर विमानस्थल नजिकैको रनग्रेथ इलाकामा भएको भिडन्तमा सैफुल्लाह मारिएका हुन्। घटनामा उनका एक सहयोगी पक्राउ परेका छन्।
भारतीय सेनासँग भिडन्तमा घाइते हुने चरमपन्थीको उपचार गर्ने भएकाले सैफुल्लाह मीर मुसैब वा डाक्टर सैफीको नामले समेत चिनिन्थे।
यसै वर्षको मेमा हिजबुल मुजाहिदीका चिफ रियाज नाइकू दक्षिण कश्मीरमा सुरक्षाबलसँग भएको एक भिडन्तमा मारिएका थिए। उनको मृत्युपछि सैफुल्लाहलाई यस समूहको चिफ कमान्डर बनाइएको थियो।


