भोटेकोशी पीडित परिवारसँग मल्लको भेट, बेपत्ताको खोजीमा थप पहल गर्न जिल्ला प्रशासन बाँकेसँग आग्रह
दिनेश ठाकुर, नेपालगञ्ज, असोज ८ — भोटेकोशी नदीमा आएको विपत्तिमा आफ्नै दाजु–भाउजू र एक छोरालाई गुमाउनुभएका नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी अन्नलाल रोकायासँग भेट गरी पीडित परिवारप्रति ऐक्यबद्धता जनाइएको छ।
रोकायाको घरमै पुगेर परिवारको अवस्था बुझ्दै दुःखको यस घडीमा सहानुभूति तथा साथ व्यक्त गरिएको हो। आफन्त गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न नसकिने भन्दै विपत्तिबाट पीडित परिवारसँग उभिनु र अझै सम्पर्कविहीन रहेका आफन्तहरूको खोजीका लागि पहल गर्नु मानवीय दायित्व भएकोमा जोड दिइएको थियो।
रोकायासँग भेटपछि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीसँग समेत भेटवार्ता गरिएको थियो। भेटमा भोटेकोशी विपत्तिपछि अझै सम्पर्कविहीन रहेका व्यक्तिहरूको खोजी कार्यलाई थप प्रभावकारी, व्यवस्थित र शीघ्र बनाउन आवश्यक पहल तथा समन्वयका विषयमा गम्भीर छलफल भएको जनाइएको छ।
भेटका क्रममा पीडित परिवारले अझै सम्पर्कविहीन रहेका आफन्तहरूको खोजीलाई उच्च प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेका थिए। त्यसक्रममा सम्बन्धित निकायबीच थप समन्वय गरी खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।
यस क्रममा विपत्तिमा मृत्यु भएका व्यक्तिहरूको विवरण तथा अन्नलाल रोकायाको नाम, ठेगाना लगायतका व्यक्तिगत विवरणमा रहेका त्रुटिहरू सच्याई सम्बन्धित अभिलेखहरू समेत अद्यावधिक गराइएको बाँकेका युवा समाजसेवी मीनबहादुर मल्लले बताउनुभयो। उहाँका अनुसार सही विवरण अभिलेखमा कायम हुनु पीडित परिवारले पाउनुपर्ने सूचना, सेवा तथा आवश्यक प्रक्रियाका लागि पनि महत्वपूर्ण भएकाले सम्बन्धित निकायसँग समन्वय गरी विवरण सच्याउने पहल गरिएको हो।
मल्लले पीडित परिवारको अवस्था बुझ्न आफू रोकायाको घरमा पुगेको र त्यसपछि जिल्ला प्रशासन कार्यालयमा पुगेर बेपत्ता आफन्तहरूको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्न आग्रह गरिएको बताउनुभयो।
उहाँले भोटेकोशी विपत्तिबाट प्रभावित परिवारलाई आवश्यक सहयोग र साथ दिन सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउँदै विपत्तिमा आफन्त गुमाएका परिवारको पीडामा साथ दिनु, बेपत्ता व्यक्तिहरूको खोजीका लागि सम्बन्धित निकायसँग समन्वय गर्नु र आवश्यक सहयोग जुटाउनु सबैको साझा मानवीय दायित्व भएको उल्लेख गर्नुभयो।
आफ्नै परिवारका सदस्य गुमाउँदाको पीडासँगै अझै सम्पर्कविहीन रहेका आफन्तको अवस्था पत्ता लाग्न नसक्नु रोकाया परिवारका लागि थप पीडादायी बनेको छ। यस्तो संवेदनशील अवस्थामा राज्यका सम्बन्धित निकाय, स्थानीय समुदाय र सरोकारवाला सबै पक्षबीच प्रभावकारी समन्वय गरी खोजी तथा उद्धार कार्यलाई तीव्रता दिनुपर्ने आवश्यकता देखिएको छ।
भोटेकोशी विपत्तिले ठूलो मानवीय क्षति पुर्याएको अवस्थामा पीडित परिवारको पीडालाई सम्बोधन गर्दै हराइरहेका आफन्तको खोजी, सही सूचना संकलन तथा अभिलेख व्यवस्थापन र आवश्यक सहयोगका लागि निरन्तर पहल र समन्वय आवश्यक रहेको सरोकारवालाले बताएका छन्।


