भोटेकोशी बाढी: रसुवा र नुवाकोटमा ठूलो क्षति, उद्धार तथा राहत कार्य तीब्र पारिँदै
काठमाडौं, १० भदौ — बुधबार बिहान ८:४० बजे भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवा र नुवाकोट लगायतका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुका साथै बेपत्ता भएका सम्पूर्णप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
मानवीय क्षति तथा बेपत्ता: बाढी प्रभावित क्षेत्रमा हालसम्म १५ वटा शव फेला परेका छन् भने सनाखत हुन बाँकी छ। त्यस्तै, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी गरी विभिन्न सुरक्षाकर्मी तथा विदेशी र स्वदेशी पर्यटकसहित सयौँ नागरिकहरू सम्पर्कविहीन रहेका छन्।भौतिक क्षति: बाढीका कारण १९ वटा मोटरेवल पुल र ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त भएका छन् भने मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी छ।घटनालगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आपतकालीन बैठक बसी खोज, उद्धार र राहत कार्यलाई तीब्र पारिएको छ।
हवाई उद्धार र उपचार: रसुवा र नुवाकोटमा खोज तथा उद्धार तीव्र पार्न नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरू परिचालन गरिएको छ। उद्धार गरिएका घाइतेहरूलाई स्थानीय अस्पताल तथा काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर, त्रि.वि. शिक्षण अस्पताल र वीर अस्पताल लगायतमा पठाइएको छ। वीर अस्पताल र ट्रमा सेन्टरमा घाइतेहरूको निःशुल्क उपचारका लागि डेडिकेटेड शय्या छुट्याइएको छ।
सुरक्षा निकाय र समन्वय: नेपाल टेलिकम र एनसेल मार्फत प्रभावित क्षेत्रमा अलर्ट मेसेज पठाइएको छ भने स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट र विश्व स्वास्थ्य संगठनसँगको समन्वयमा चिकित्सक तथा स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा खटाइएका छन्।
अस्थायी बसोबास: बाढी पीडितहरूलाई तत्कालका लागि नेपाली सेनाका नजिकका ब्यारेकमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ र खाद्यान्न, सफा पानी तथा औषधिको प्रबन्ध भइरहेको छ।
आपतकालीन सम्पर्क: प्रभावित क्षेत्रमा जोमिखममा परेका वा तत्काल सहायता आवश्यक भएका नागरिकले सम्बन्धित जिल्लाको टोल फ्री नम्बर १२३४ / १०० / ११११ मा सम्पर्क गरी सूचना दिन सक्नेछन्।
सरकारको आगामी प्राथमिकतामा घाइतेहरूको उद्धार, सम्पर्कविहीनहरूको खोजी, राहत वितरण, र भत्किएका सडक तथा सञ्चार संरचनाको पुनर्जीवन रहेको छ।



