२ श्रावण २०८३, शनिबार

महाष्टमी पर्व शनिबार हिन्दूधर्माबलम्बीले विशेष पूजाराधना गरी मनाउँदै

एसीपी संवाददाता

८ कार्तिक २०७७, शनिबार ०३:३९ मा प्रकाशित

नेपालगंज स्थित रहेको वागेश्वरी मन्दिरमा छिमेकी जिल्ला लगायत छिमेकी मूलुक भारतबाट पनि श्रद्धालु भक्तजनहरु आएर पूजापाठ गरी बली चढाउने चलन रहेपनि यसपटक सिमा बन्द गरिएकोले उनीहरु आएका थिएनन् । वागेश्वरी मन्दिरमा घटस्थापनाको दिनदेखि नौ दिनसम्म नवदुर्गा भवानीको पूजापाठ गर्ने धार्मिक मान्यता हुनुको साथै विभिन्न स्थानबाट आएका भक्तजनले आफ्नो भाकल पुरा भएको खुशी मनाउदै जिब्रो छेडेर बागेश्वरीको दर्शन गर्ने चलन चलि आएको छ ।

घटस्थापनाकै दिनदेखि नवरात्री शुरु भएकाले नवरात्रीभर वागेश्वरी मन्दिरमा बिशेष पूजापाठ गरिन्छ । प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्दै अष्टमीका दिन पूजा गर्ने चलन रहेको छ । देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिने प्रचलन रहेको छ । अष्टमीका दिन मानिसहरू आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि समेत दिने प्रचलन रहेको छ । शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् ।

यसै बीच शनिबार देशभर आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज(शनिबार) नेपाली हिन्दूधर्माबलम्बीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी मनाउँदैछन् ।बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ ।आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ ।

दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । आजका दिन काठमाडौँ उपत्यकासहित मुलुक विभिन्न भागमा रहेका शक्तिपीठमा बलिसहित पूजापाठ गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण नगण्यमात्रामा बलिसहितको पूजा हुने छ ।आजको दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ ।

यी साधनलाई देवीको शस्त्रास्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो । देवीका शस्त्रास्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ ।पशुबलि नचढाउनेहरुले भने आज पूजाकोठामा आआफ्नो कुल परम्परानुसार काँक्रो, घिरौंँला, कुभिण्डो, मुला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन् ।

महाष्टमीका दिन राति हनुमानढोकाको दशैंँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिएकामा यस वर्ष कोरोनाका कारण स्थगन गरिएको हनुमानढोका हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।घटस्थापनादेखि विजयादशमीको दिनसम्म दिइने बलि भने निरन्तर जारी रहेको उहाँले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x