मिसन ८४’ मा नरैनापुर–६ को मुहार फेर्ने सोहनलाल यादवको संकल्प, युवा नेतृत्व र विकासलाई मुख्य प्राथमिकता शिक्षा, स्वास्थ्य, कृषि, सडक र रोजगारीमा परिवर्तन ल्याउने प्रतिबद्धता
दिनेश ठाकुर बाँके, नरैनापुर मसिर ३ गते — आगामी २०८४ सालमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ मा चुनावी गतिविधि विस्तारै बढ्न थालेका छन्। यसैक्रममा वडा नम्बर ६ को समग्र विकास र समृद्धिको एजेन्डासहित युवा नेता सोहनलाल यादव वडाध्यक्ष पदको सम्भावित उम्मेदवारका रूपमा चर्चामा आउनुभएको छ।
लामो समयदेखि स्थानीयस्तरमा सामाजिक गतिविधि तथा जनताको सुखदुःखमा सक्रिय रहँदै आउनुभएका यादवले आगामी ‘मिसन ८४’ लाई वडा नम्बर ६ को विकासमा नयाँ परिवर्तन ल्याउने अवसरका रूपमा लिनुभएको छ। उहाँले शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, युवा रोजगारी र विपद् व्यवस्थापनलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्नुभएको छ।वडावासीहरूसँगको भेटघाट तथा छलफलका क्रममा यादवले वडाको विकासका लागि स्पष्ट योजना, इमानदार नेतृत्व र जनताप्रति उत्तरदायी कार्यशैली आवश्यक रहेको बताउनुभएको छ।
उहाँले भन्नुभयो, “विगतमा वडा नम्बर ६ को विकास जनताको अपेक्षाअनुसार हुन सकेन। अब विकासका कुरा भाषणमा मात्र सीमित हुनुहुँदैन, जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्नुपर्छ। मेरो संकल्प युवा नेतृत्वमार्फत वडाको मुहार फेर्ने, पारदर्शी र भ्रष्टाचारमुक्त स्थानीय शासन स्थापना गर्ने हो।”
यादवले वडाका कच्ची सडकलाई स्तरोन्नति गर्दै आवश्यक स्थानमा कालोपत्रे गर्ने, व्यवस्थित ढल निकासको व्यवस्था मिलाउने तथा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकता दिने योजना अघि सार्नुभएको छ। त्यस्तै, कृषिमा निर्भर स्थानीय बासिन्दाको जीवनस्तर सुधार गर्न किसानलाई समयमै मल, बीउ र सिँचाइको सुविधा उपलब्ध गराउन पहल गर्ने उहाँको भनाइ छ। कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउँदै किसानको उत्पादन तथा आम्दानी बढाउने वातावरण निर्माण गर्नुपर्ने उहाँले बताउनुभएको छ।
शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि यादवले विशेष प्राथमिकतामा राख्नुभएको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने, विद्यालयमा आवश्यक शैक्षिक वातावरण निर्माण गर्ने तथा आधारभूत स्वास्थ्य सेवालाई सबै वडावासीको पहुँचमा पुर्याउने उहाँको योजना छ।
स्थानीय युवाहरूलाई सीपमूलक तथा व्यावसायिक तालिम उपलब्ध गराई गाउँमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्ने प्रतिबद्धता पनि यादवले व्यक्त गर्नुभएको छ।राप्ती नदीको तटीय क्षेत्रमा पर्ने नरैनापुर–६ मा वर्षायाममा देखिने डुबान र नदी कटानको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न व्यवस्थित तटबन्ध निर्माण तथा विपद् व्यवस्थापनका योजनामा सम्बन्धित निकायसँग समन्वय र पहल गर्ने उहाँको भनाइ छ।
“विकासका लागि ठूलो कुरा होइन, सही सोच, इच्छाशक्ति र जनताप्रतिको इमानदार प्रतिबद्धता चाहिन्छ। म पदका लागि मात्र होइन, आफ्नो वडा र वडावासीको भविष्य बदल्ने उद्देश्य सहित अघि बढेको हुँ,” यादवले भन्नुभयो।
युवा जोस, सामाजिक सक्रियता र विकासका एजेन्डासहित अघि बढ्नुभएका यादवको उम्मेदवारी चर्चाले नरैनापुर गाउँपालिका वडा नम्बर ६ को स्थानीय राजनीतिक माहोलमा पनि चासो बढाएको छ।
आगामी निर्वाचनमा मतदाताले कस्तो नेतृत्व रोज्नेछन् भन्ने विषय भने निर्वाचन नजिकिँदै जाँदा थप स्पष्ट हुँदै जानेछ।


