‘मिसन ८४’ मा नेपालगन्जको मेयरका लागि कमाल अन्सारीको चर्चा, शिक्षा र विकासलाई बनाए मुख्य एजेन्डा २३ वटै वडामा सन्तुलित विकास, गुणस्तरीय शिक्षा र सुशासनमार्फत आधुनिक तथा समृद्ध नेपालगन्ज निर्माण गर्ने लक्ष्य
नेपालगन्ज, मसिर ३ गते — आगामी २०८४ सालमा हुने स्थानीय तह निर्वाचन अर्थात् ‘मिसन ८४’ लाई लक्षित गर्दै नेपालगन्ज उपमहानगरपालिकाको भावी नेतृत्वबारे राजनीतिक तथा सामाजिक वृत्तमा चर्चा सुरु भएको छ।
यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६, जैसपुर निवासी युवा नेता तथा समाजसेवी कमाल अन्सारी मेयर पदका सम्भावित उम्मेदवारका रूपमा चर्चामा आउनुभएको छ।लामो समयदेखि स्थानीयस्तरमा सामाजिक सेवा, युवा परिचालन तथा समुदायका विभिन्न गतिविधिमा सक्रिय रहँदै आउनुभएका अन्सारीले नेपालगन्जको समग्र विकास, गुणस्तरीय शिक्षा, सुशासन र रोजगारी सिर्जनालाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सार्नुभएको छ।
पुरानो कार्यशैलीभन्दा फरक, पारदर्शी, जवाफदेही र परिणाममुखी नेतृत्व आजको आवश्यकता रहेको उल्लेख गर्दै अन्सारीले नेपालगन्जलाई आधुनिक, व्यवस्थित, समृद्ध र सभ्य सहरका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभएको छ।शिक्षामा आमूल परिवर्तन गर्ने योजना
अन्सारीले नगरको दीर्घकालीन विकासको बलियो आधार शिक्षा भएको बताउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राख्नुभएको छ। उहाँका अनुसार नगरभित्रका सबै बालबालिकाले प्रविधिमैत्री, व्यावहारिक तथा निःशुल्क आधारभूत शिक्षा प्राप्त गर्ने वातावरण निर्माण गर्न आवश्यक छ।
विशेषगरी पिछडिएका समुदाय, अल्पसङ्ख्यक तथा ग्रामीण क्षेत्रका वडामा शिक्षाको पहुँच विस्तार गर्न छात्रवृत्ति, आधुनिक शिक्षण पद्धति र आवश्यक शैक्षिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने उहाँको जोड छ।
२३ वटै वडामा समानुपातिक विकास र सुशासन
नेपालगन्जका २३ वटै वडामा समानुपातिक तथा सन्तुलित विकास हुनुपर्ने धारणा राख्दै अन्सारीले सडक पूर्वाधारको स्तरोन्नति, ढल निकासको दीर्घकालीन समाधान, व्यवस्थित फोहोरमैला व्यवस्थापन र स्वच्छ खानेपानीको उपलब्धतालाई प्राथमिकतामा राख्नुभएको छ।त्यसैगरी नगरमा विकास निर्माणका काममा हुने ढिलासुस्ती अन्त्य गर्दै सार्वजनिक सेवा प्रवाहलाई सहज, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने उहाँको भनाइ छ।
युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्ने प्रतिबद्धता
युवाहरूको विदेश पलायन रोक्न स्थानीयस्तरमै रोजगारी तथा उद्यमशीलताका अवसर सिर्जना गर्नुपर्ने अन्सारीको धारणा छ। युवालाई सीपमूलक तालिम, स्वरोजगारका कार्यक्रम तथा सहुलियतपूर्ण कर्जाको पहुँच उपलब्ध गराउन सके आर्थिक रूपमा सक्षम र आत्मनिर्भर समाज निर्माण गर्न सकिने उहाँको विश्वास छ।
समाजसेवामार्फत स्थानीय नागरिकका सुख–दुःखमा निरन्तर साथ दिँदै आउनुभएका अन्सारीले विकासको अवसर सबै समुदाय, वर्ग र क्षेत्रसम्म समान रूपमा पुग्नुपर्ने बताउनुभएको छ।‘नेपालगन्जको विकासमा सबै समुदायको समान सहभागिता आवश्यक छ। शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सुशासनलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा अघि बढ्न सके नेपालगन्जलाई समृद्ध र व्यवस्थित सहर बनाउन सकिन्छ,’ अन्सारीको धारणा छ।
स्थानीयस्तरमा सामाजिक गतिविधि र युवा परिचालनमा सक्रिय रहँदै आउनुभएका अन्सारीको मेयर पदमा सम्भावित उम्मेदवारीको चर्चाले ‘मिसन ८४’ को राजनीतिक बहसलाई थप रोचक बनाएको छ। यद्यपि उहाँको औपचारिक उम्मेदवारी तथा राजनीतिक निर्णयबारे भने थप स्पष्टता आउन बाँकी छ।


