६ असार २०८३, शनिबार

मुक्कुमलुङको पहिचान मेट्ने विकास गरिए आन्दोलनको आँधीबेहरी आउने महतोको चेतावनी

एसीपी संवाददाता

६ असार २०८३, शनिबार १८:३८ मा प्रकाशित

काठमाडौँ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले विकासका नाममा आदिवासी समुदायको इतिहास, पहिचान, संस्कृति र सभ्यता मेट्ने दुष्प्रयास गरिए सह्य नहुने चेतावनी दिएका छन्। ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको समग्र अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलको निर्णयलाई स्वागत गर्दै नेता महतोले यस्तो चेतावनी दिएका हुन्।
प्रधानमन्त्रीका सामाजिक विकास विज्ञ विश्वहाङ राईको संयोजकत्वमा गठित अध्ययन कार्यदलको सन्दर्भमा प्रेस विज्ञप्ति जारी गर्दै नेता महतोले मुक्कुमलुङ केवल भौगोलिक क्षेत्र मात्र नभई किरात सभ्यता, मुन्धुमी दर्शन र आदिवासी–जनजाति समुदायको ऐतिहासिक स्मृति, सांस्कृतिक अस्तित्व एवं आध्यात्मिक आस्थाको जीवित केन्द्र भएको स्पष्ट पारेका छन्। विकासको बहानामा कुनै पनि समुदायको पहिचानमाथि हुने अतिक्रमणका विरुद्ध आफूहरू सुरुदेखि नै दृढ रहेको र न्यायका लागि जुनसुकै स्तरको संघर्ष गर्न तयार रहेको उनले बताए।
नेता महतोले सरकारद्वारा गठित अध्ययन कार्यदलले केवल परियोजना रोक्ने वा खारेज गर्ने परम्परागत काम मात्र गरेर नपुग्ने उल्लेख गरेका छन्। उनले कार्यदलले वस्तुगत प्रतिवेदन तयार पार्दा परियोजनाका नाममा भएका सम्भावित अनियमितता, प्रक्रियागत त्रुटि र कानुनी कमजोरीहरूको सूक्ष्म छानबिन गरि ऐतिहासिक तथा सांस्कृतिक सम्पदामाथि गरिएको अतिक्रमण, स्थानीय समुदायको अधिकारमाथि भएको बेवास्ता र मुन्धुमी सभ्यतामा पुगेको क्षतिको पूर्ण मूल्यांकन र परियोजनामा लगानी भएको भन्दै जनतालाई भ्रमित गर्ने प्रवृत्तिको अन्त्य हुने विषयहरूलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन् ।
यदि कुनै व्यक्ति, समूह वा बिचौलियाले निजी स्वार्थका लागि गलत सूचना दिएर वा अनुचित प्रक्रियाबाट आर्थिक लाभ लिएको छ भने त्यसको जिम्मेवारी स्वयं उनीहरूले नै वहन गर्नुपर्छ, महतोले चेतावनी दिँदै भनेका छन्, “जनताको भावना र राष्ट्रिय पहिचानमाथि खेलबाड गरेर प्राप्त लाभको भार राज्य वा जनतामाथि थोपर्नु न्यायसंगत हुँदैन, त्यो हामीलाई मान्य छैन।”
मुक्कुमलुङ संरक्षण आन्दोलनमा स्थानीय बासिन्दा, सांस्कृतिक अभियन्ता, नागरिक समाज र राजनीतिक दलहरूको दृढता र त्यागका कारण सरकार यो कार्यदल गठन गर्ने अवस्थामा पुगेको महतोको भनाइ छ। आफूले समेत ज्यान जोखिममा पारेर मुक्कुमलुङ पदयात्रा गरेको र आन्दोलनकारीहरूसँग काँधमा काँध मिलाएर निरन्तर आवाज उठाएको तथ्य स्मरण गर्दै उनले जनताको चेतना र संघर्षभन्दा ठूलो कुनै शक्ति नहुने उल्लेख गरे।
आगामी दिनमा यस्ता विवाद र द्वन्द्व दोहोरिन नदिन नेता महतोले सरकारसँग एक दीर्घकालीन नीति निर्माण गर्न माग गरेका छन्। देशका कुनै पनि धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सभ्यतागत महत्वका क्षेत्रहरूमा विकास आयोजना अघि बढाउँदा स्थानीय समुदायको पूर्वसूचित सहमति, सांस्कृतिक प्रभाव मूल्यांकन तथा ऐतिहासिक संवेदनशीलतालाई अनिवार्य कानुनी आधार बनाइनुपर्ने उनको अडान छ।
विज्ञप्तिको अन्त्यमा महतोले दृढता व्यक्त गर्दै भनेका छन्, “मुक्कुमलुङ केवल एउटा भूमि होइन, यो सभ्यता र अस्तित्व हो। विकास आवश्यक छ, तर विकासका नाममा कसैको इतिहास र संस्कृति मेट्ने अधिकार कसैलाई छैन।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x