मोबाइल तस्करी – पर्दापछाडिको मालिक अझै सुरक्षित ?
नवलपरासी । पश्चिम नवलपरासीमा लामो समयदेखि सञ्चालन हुँदै आएको मोबाइल तथा त्यससँग सम्बन्धित सामग्रीको अवैध कारोबारमाथि अन्ततः प्रहरीको ठूलो धावा परेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार बर्दघाट नगरपालिका–११ गैडहा क्षेत्रको भित्री सडक छेउमा रहेको एक खाली घरबाट झण्डै २७ लाख २० हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ। 
इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले बरामद गरेको सामानमा ४७ कार्टुनमा राखिएका २३ हजार ५ सय थान मोबाइल टेम्पर ग्लास तथा ३२ कार्टुनमा प्याक गरिएका हुक्कामा प्रयोग हुने ९८४ प्याकेट विभिन्न फ्लेवर रहेका छन्। प्रारम्भिक अनुसन्धानमा ती सामानहरू भन्सार छलेर नेपाल भित्र्याइएको आशंका गरिएको छ।तर यो बरामदगी केवल सामान फेला परेको घटना मात्र नभई पश्चिम नवलपरासीमा लामो समयदेखि मौलाउँदै आएको मोबाइल तस्करी सञ्जालको एउटा पाटो हुनसक्ने प्रहरी स्रोतको दाबी छ।
अनुसन्धानमा संलग्न स्रोतहरूका अनुसार बरामद गरिएको मोबाइलसम्बन्धी सामान सुस्ता क्षेत्रका ‘असलम’ नामले चिनिने एक व्यक्तिसँग सम्बन्धित रहेको प्रारम्भिक सूचना प्राप्त भएको छ। स्रोतका अनुसार उनी झण्डै पाँच महिनादेखि मोबाइल तथा त्यसका सहायक सामग्रीको अवैध कारोबारमा संलग्न रहेको आशंका छ।प्रहरीका अनुसार असलमले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट भन्सार छलेर सामान भित्र्याउने, गोदाममा राख्ने र विभिन्न व्यापारीसम्म पु¥याउने काम गर्दै आएको हुनसक्ने देखिएको छ। यद्यपि घटनाबारे औपचारिक रूपमा प्रहरीले कसैको नाम सार्वजनिक गरिसकेको छैन।
स्थानीय सुरक्षा स्रोतका अनुसार केही समयअघिसम्म पश्चिम नवलपरासीमा मोबाइल तथा इलेक्ट्रोनिक सामग्रीको अवैध कारोबारको नेतृत्व बालमुकुन्द रौनियार नामक व्यापारीले गर्दै आएको चर्चा थियो। तर पछिल्लो समय सशस्त्र प्रहरी बलको लुम्बिनीस्थित बाहिनी तथा मातहतका युनिटहरूले पटक–पटक ठूलो परिमाणमा सामान बरामद गर्न थालेपछि उक्त समूह कमजोर बनेको बताइन्छ।सीमाक्षेत्रमा निगरानी बढेसँगै पुराना कारोबारीहरू पछाडि हट्न थालेको र त्यसपछि नयाँ अनुहारका रूपमा असलम सक्रिय भएको स्थानीय स्रोतहरूको दाबी छ।
सुरक्षा स्रोतहरूका अनुसार असलमसँग सम्बन्धित भनिएका मोबाइल तथा अन्य सामग्री यसअघि पनि दुई पटक सशस्त्र प्रहरी बलले बरामद गरेको थियो। ती दुई घटनामा मात्रै झण्डै २० लाख रुपैयाँ बराबरको मोबाइल तथा मोबाइलजन्य सामग्री नियन्त्रणमा लिइएको बताइन्छ।यसले असलममाथि शंका बढाएको भए पनि प्रत्येक घटनापछि वास्तविक लगानीकर्ता वा मुख्य योजनाकारसम्म अनुसन्धान पुग्न नसकेको आरोप स्थानीय तहमा सुनिन थालेको छ।
घटनासँग परिचित प्रहरी स्रोतहरूका अनुसार अनुसन्धानको अर्को महत्वपूर्ण पाटो भनेको असलम स्वयं मुख्य कारोबारी नभई प्रतिशतको आधारमा काम गर्ने ‘क्यारिङवाला’ अर्थात् सामान ओसारपसार तथा व्यवस्थापन गर्ने व्यक्ति मात्र हुनसक्ने सम्भावना हो।स्रोतहरू भन्छन्, “अवैध कारोबारको संरचना हेर्दा सामान किन्ने, सीमाबाट ल्याउने, भण्डारण गर्ने र बजारसम्म पु¥याउने अलग–अलग तह देखिन्छ। असलम सञ्चालन तहमा भए पनि लगानीकर्ता र नेटवर्क सञ्चालन गर्ने व्यक्ति अर्कै हुन सक्छ।”यदि यो तथ्य प्रमाणित भयो भने अहिले बरामद भएको सामान केवल एउटा गोदामको पर्दाफास मात्र नभई ठूलो तस्करी सञ्जालको सुरुवाती कडी हुनसक्ने देखिन्छ।
प्रहरीले बरामद गरेको सामान कोही नबस्ने खाली घरमा राखिएको अवस्थामा फेला पारेको जनाएको छ। तस्करहरूले पछिल्लो समय गोदामका रूपमा यस्तै सुनसान घर, अधुरा भवन तथा ग्रामीण क्षेत्रका सुरक्षित स्थान प्रयोग गर्न थालेको सुरक्षा अधिकारीहरू बताउँछन्।यसरी सामान राख्दा प्रहरीको निगरानीबाट बच्न सजिलो हुने, मालिकको प्रत्यक्ष पहिचान नखुल्ने र जोखिम बढे तत्काल स्थान परिवर्तन गर्न सकिने भएकाले तस्करहरूले यस्तो रणनीति अपनाउने गरेको देखिन्छ।
पश्चिम नवलपरासी भारतसँग जोडिएको संवेदनशील सीमा क्षेत्र हो। खुला सीमा, ग्रामीण भित्री बाटो र रातको समयमा कमजोर निगरानीका कारण मोबाइल, कपडा, किराना सामग्री, इलेक्ट्रोनिक सामान तथा अन्य वस्तुको तस्करी वर्षौंदेखि चुनौतीका रूपमा रहेको छ।सुरक्षा निकायले पछिल्लो समय बरामदगी बढाएको दाबी गरे पनि वास्तविक लगानीकर्ता र सञ्जालका मुख्य व्यक्तिहरू कानुनी दायरामा आउन नसक्दा तस्करी पूर्ण रूपमा नियन्त्रण हुन नसकेको गुनासो स्थानीय तहमा सुनिन्छ।
२७ लाखभन्दा बढी मूल्यका सामान बरामद भएको यो घटनाले पश्चिम नवलपरासीको मोबाइल तस्करी सञ्जालबारे नयाँ बहस सुरु गरेको छ। बरामद सामानको वास्तविक मालिक को हो ? असलम केवल क्यारिङवाला मात्र हुन् कि सञ्जालका प्रमुख पात्र ? पर्दापछाडिका लगानीकर्ता को हुन् ? यस्ता प्रश्नहरूको उत्तर अब प्रहरी अनुसन्धानले दिनुपर्नेछ।यदि अनुसन्धान केवल सामान बरामदमै सीमित रह्यो भने अर्को नाम र अर्को गोदामबाट यही कारोबार पुनः सञ्चालन हुने जोखिम रहनेछ। तर वास्तविक योजनाकार र लगानीकर्तासम्म कानुनी कारबाही पुग्न सके पश्चिम नवलपरासीमा वर्षौंदेखि जरा गाडेको मोबाइल तस्करी सञ्जालमाथि ठूलो प्रहार हुने अपेक्षा गरिएको छ। नवप्रहार



