रसुवाका बाढीपीडितलाई नेपालगन्ज उद्योग वाणिज्य संघको ५ लाख ५१ हजार सहयोग
दिनेश ठाकुर नेपालगन्ज, भदौ १४ गते — रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले ५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
भोटेकोसीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै सयौँ परिवार प्रभावित बनेपछि पीडितको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले संघले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
विपद्को यस कठिन घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै संघले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी वलीले विपद्का बेला पीडित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउँदै संघले मानवीय सहयोगलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो।
संघको यो सहयोगले रसुवाका बाढीपीडित परिवारको तत्कालीन राहत तथा पुनःस्थापनामा केही भए पनि टेवा पुग्ने विश्वास गरिएको छ।
“विपद्मा पीडितको साथमा नेपालगन्ज उद्योग वाणिज्य संघ—मानवीय सहयोगमा एक कदम अघि।”


