रसुवाको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति जसपा नेपालद्वारा गहिरो दुःख व्यक्त, तत्काल राहत र उद्धारको माग
काठमाडौं, भदौ १० — जनता समाजवादी पार्टी (जसपा), नेपालले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा जारी प्रेस विज्ञप्तिमा बाढीका कारण जनधन, भौतिक संरचना, स्थानीय जनजीवन र जलविद्युत आयोजना (हाइड्रोपावर) हरूमा पुगेको अपूरणीय क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
बाढीमा परी ज्यान गुमाउनेहरूमा श्रद्धाञ्जलि अर्पण गर्दै विज्ञप्तिमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ। साथै, घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र उद्धार, उपचार, राहत र क्षतिपूर्तिको उचित व्यवस्था मिलाउन तथा सुरक्षित पुनस्थापनाका लागि यथाशीघ्र आवश्यक सहयोग उपलब्ध गराउन नेपाल सरकारसँग जोडदार माग गरिएको छ।
विपद्को यस कठिन घड़ीमा तीनै तहका सरकार, राजनीतिक दलहरू, सामाजिक संघसंस्था, उद्यमी–व्यवसायी तथा समाजका सबै क्षेत्रलाई एकजुट भई उद्धार, राहत र पुनस्थापनाको कार्यमा हातेमालो गर्न पार्टीले हार्दिक अपिल गरेको छ।



