रानी तलाउस्थित लक्ष्मी नारायण मन्दिर परिसरमा अर्जुन शक्ति केन्द्रको आयोजनामा निःशुल्क लाठी प्रशिक्षण
नेपालगन्ज — नेपालगन्जको रानी तलाउस्थित लक्ष्मी नारायण मन्दिरमा शनिबार, असोज १७ गतेदेखि बालबालिका तथा युवाहरूलाई लक्षित गर्दै निःशुल्क लाठी प्रशिक्षण सुरु गरिएको छ। हाम्रो प्राचीन कला र आत्मरक्षाको विधालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले यो प्रशिक्षण सञ्चालन गरिएको हो।
आगामी कार्तिक ४ गते विजयदशमीको पवित्र दिनमा नेपालगन्जमा अर्जुन शक्ति केन्द्र क्लबबाट एक भव्य र्याली निकालिने भएको छ। उक्त र्याली विभिन्न परम्परागत झाँकीसहित नगर परिक्रमा गर्दै नेपालगन्जको प्रख्यात धार्मिक स्थल बागेश्वरी मन्दिरमा पुग्नेछ। मन्दिर परिसरमा विधिपूर्वक शस्त्र पूजा सम्पन्न गरिने कार्यक्रम रहेको छ।
बडादसैँको समापन तथा दुर्गा माताको प्रतिमा विसर्जन गर्ने दिन अर्थात् कार्तिक ५ गते नेपालगन्जका विभिन्न चौक-चौकहरूमा अर्जुन शक्ति केन्द्रको विशेष आयोजनामा कलात्मक लाठी प्रदर्शन गरिने भएको छ।
यस किसिमका धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले युवा पुस्तामा परम्परागत कलाप्रति रुचि बढाउनुका साथै आपसी सद्भाव र एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।


