राष्ट्रिय दलित विधेयकबारे नेपालगन्जमा सुझाव संकलन, समावेशी र अधिकारमुखी बनाउन सरोकारवालाको जोड
दिनेश ठाकुर, नेपालगन्ज, असाेज ५ — दलित महिला संघ (FEDO) बाँकेको आयोजनामा राष्ट्रिय दलित विधेयकसम्बन्धी सुझाव संकलन कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, कानुन व्यवसायी, पत्रकार तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले राष्ट्रिय दलित विधेयकलाई प्रभावकारी, समावेशी तथा दलित समुदायको अधिकार सुनिश्चित गर्ने गरी निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। सहभागीहरूले दलित समुदायका विद्यमान समस्या, अधिकारको सुनिश्चितता, सामाजिक न्याय, समान अवसर तथा राज्यका विभिन्न तहमा अर्थपूर्ण सहभागितालगायतका विषयमा महत्वपूर्ण सुझाव दिएका थिए।
दलित महिला संघ (FEDO) बाँकेकी अध्यक्ष निर्मला सुनारले राष्ट्रिय दलित विधेयक दलित समुदायका अधिकारलाई व्यवहारमै सुनिश्चित गर्ने महत्वपूर्ण आधार बन्नुपर्ने बताउनुभयो। उहाँले विधेयक निर्माणको प्रक्रियामा दलित समुदाय तथा सरोकारवालाको सुझावलाई समेट्दै प्रभावकारी कानुनी व्यवस्था गर्न आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा संकलन गरिएका सुझावहरूले राष्ट्रिय दलित विधेयकलाई अझ प्रभावकारी, समावेशी र अधिकारमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास छ।
दलित महिला संघ (FEDO) बाँकेकी कार्यक्रम संयोजक दिलशा गौतमले कार्यक्रममा उपस्थित भई महत्वपूर्ण सुझाव, सहकार्य र ऐक्यबद्धता प्रदान गर्ने सम्पूर्ण महानुभावहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले दलित समुदायको अधिकार र सामाजिक न्यायका लागि यस्ता छलफल तथा सुझाव संकलन कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।


