रुसलाई हतियार दिएको आरोप
सोल । आफ्नो प्रमुख सहयोगी दक्षिण कोरियाका शीर्ष अधिकारीहरूसँगको बैठकपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले बिहीबार युक्रेनमाथि रुसी आक्रमणमा सहयोग गर्न रुसमा हतियार पठाएकामा उत्तर कोरियाको आलोचना गरेका छन् ।
अमेरिका, दक्षिण कोरिया र जापानले हालैका सातामा युक्रेनमा रुसको सैन्य अभियानलाई अगाडि बढाउन सहयोग गरेकामा प्योङयाङको आलोचना गर्दै आएका छन् । उत्तर कोरियाले रुसमा १० लाख तोप पठाएको सोलले बताएको छ । जापानमा जी–७ का विदेशमन्त्रीहरूको बैठकपछि ब्लिङ्केन अहिले सोलमा रहेका छन् । उनले बिहीबार दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलसँग सोलमा भेटवार्ता गरेका छन् ।
“उहाँहरूले युक्रेनविरुद्धको युद्धमा प्रयोगका लागि उत्तर कोरियाले रुसलाई सैन्य उपकरण र युद्ध सामग्री उपलब्ध गराएकामा कडा निन्दा गर्नुभएको छ”, राष्ट्रपति युनसँग विदेशमन्त्री ब्लिङ्केनको भेटपछि अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “गाजामा सर्वसाधारणलाई मानवीय सहयोग प्रदान गर्ने दक्षिण कोरियाको प्रतिबद्धताका लागि ब्लिङ्केनले राष्ट्रपति युनलाई धन्यवाद दिनुभएको छ ।”


