१२ मंसिर २०८३, शुक्रबार

लोकतान्त्रिक आन्दोलन दबाउन सैन्य सरकारले विदेशी मुद्रा प्रयोग गरी हतियार खरिद गरेको आरोप

एसीपी संवाददाता

९ असार २०८०, शनिबार ०९:२६ मा प्रकाशित

लोकतान्त्रिक आन्दोलन दबाउन सैन्य सरकारले विदेशी मुद्रा प्रयोग गरी हतियार खरिद गरेको आरोप


बैंकक — अमेरिकाले म्यानमारको रक्षा मन्त्रालय र दुई बैंकमाथि प्रतिबन्ध लगाएको छ । वैदेशिक मुद्रा प्रयोग गरी हतियार खरिदमा संलग्न रहेको भन्दै अमेरिकाले म्यानमारलाई थप प्रतिबन्ध लगाएको हो ।

अमेरिकाको राज्यकोषसम्बन्धी विभागले बुधबार विज्ञप्ति जारी गर्दै म्यानमारको सैन्य सरकारले लोकतान्त्रिक आन्दोलन दबाउन वैदेशिक स्रोतबाट रुसलगायत देशबाट हतियार किनिरहेको जनाएको छ । २०२१ मा निर्वाचित सरकारलाई हटाएर म्यानमारमा ‘कु’ गरेको सेनाले त्यसयता १ अर्ब अमेरिकी डलरको हतियार खरिद गरेको पनि अमेरिकाले आरोप लगाएको छ ।

म्यानमारमा नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुचीको सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता कब्जा गरेको थियो । त्यसयता उक्त देशमा आन्तरिक द्वन्द्व चर्किरहेको छ । लोकतान्त्रिक व्यवस्था पुनर्बहाली गर्न सैन्य सरकारका विरुद्धमा म्यानमारमा नागरिकले आन्दोलन गर्दै आएका छन् । आन्दोलनलाई दबाउन म्यानमार सरकारले रुस, सिंगापुर, चीन, भारतलगायत देशका विभिन्न कम्पनीबाट हतियार तथा हतियार बनाउन आवश्यक उपकरणको आयात गर्दै आएको आरोप छ ।

म्यानमारको सैन्य सरकारले उक्त हतियार आफ्नो नागरिकको विरुद्धमा प्रयोग गरिरहेको र आन्दोलन दबाउन गरिएका कारबाहीमा थुप्रै म्यानमारका नागरिकको मृत्यु भएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । म्यानमारमा आन्तरिक द्वन्द्वले थुप्रै परिवार विस्थापित भई छिमेकी देशमा शरण लिएर बसेका छन् । सैन्य सरकारको विरुद्धमा नागरिकले आन्दोलन गर्न थालेपछि थुप्रै सैनिकले पनि संगठन छोड्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x