सङ्घीय संसद्को राष्ट्रियसभाको हिउँदे अधिवेशन
सङ्घीय संसद्को राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन आह्वान गरेपछि शुक्रबारदेखि बैठक सुरु भएको हो । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकको सुरुमै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । बैठक शुरु भएका सन्दर्भमा विभिन्न दलका नेताहरुले धारणा राखेका थिए । बैठकमा नेकपा नेता दीनानाथ शर्माले राजनीतिक दलहरु विभाजन हुँदा लोकतन्त्र कमजोर हुने बताउनुभयो । पार्टी विभाजन कुनै सिद्धान्तका आधारमा नभई राजनीतिक कारणले मात्र भइरहेको भन्दै उहाले यो दुखद घटना भएको बताउनुभयो । नेता शर्माले दलभित्रको अन्तरविरोधका कारण जनप्रतिनिधि मूलक संस्थामा असर पर्नु राम्रो अनुभूति नभएको बताउनुभयो ।
त्यस्तै कांग्रेस सदस्य जितेन्द्रनारायण देवले नेकपा र सरकारले विदेशीलाई चलखेल गर्न दिएर नेपालको राष्ट्रियता कमजोर पारेको आरोप लगाउनुभयो । समावेशी लोकतन्त्रबाट मात्रै राष्ट्रियता बलियो हुने भए पनि नेकपा र सरकारले यसबारे कहिल्यै नसोचेको देवको भनाइ थियो । त्यस्तै जनता समाजवादी पार्टीकी सांसद् प्रमिला कुमारीले प्रधानमन्त्रीले गरेको संसद् विघटन ०१७ सालमा राजा महेन्द्रले चालेको प्रतिगमनको पुनरावृत्ति भएको बताउनुभयो । सर्वोच्च अदालतले संसद् पुनस्थापनाको आदेश जारी गर्नेमा आफू विश्वस्त रहेको उहाको भनाइ छ ।
बैठकमा विभिन्न सात वटा अध्यादेश पेश गरिएका छन् । राष्ट्रियसभा बैठकले संविधानसभा, प्रतिनिधिसभा र राष्ट्रिय सभाका वर्तमान तथा पूर्व १० सांसदको विभिन्न समयमा भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नभएको उक्त प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो । राष्ट्रियसभाको अर्को बैठक यही पुस २३ गते दिउँसो १ बजे बस्नेछ ।


