३२ असार २०८३, बिहीबार

सम्माननीय उपराष्ट्रपति यादवसंग इजरायलका राजदूत बासको शिष्टाचार भेट

एसीपी संवाददाता

२३ बैशाख २०८२, मंगलवार १८:०८ मा प्रकाशित

काठमाडौं – सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि इजरायलका महामहिम राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
लैनचौर हरितगृहस्थित उपराष्ट्रपतिको कार्यालयमा मंगलबार भएको भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोग लगायतका विषयमा महत्वपूर्ण संवाद भयो ।
उपराष्ट्रपति यादवले सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र इजरायलबीच मित्रता, सद्भाव, समझदारी तथा सहयोगपूर्ण सम्बन्ध कायम रहिआएको बताउनुभयो । उहाँले दुई मुलुकबीच विभिन्न सम्झौताहरु भएको र केही प्रक्रियामा रहेको जानकारीमा आएको उल्लेख गदै त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो। ‘नेपाल र इजरायलबीच आर्थिक, व्यापारिक, पर्यटन तथा लगानीका क्षेत्रमा सहकार्य गर्ने प्रमुख सम्भावना छ ’ उहाँले भन्नुभयो , ‘यी क्षेत्रहरुमा अवसरको खोजी गरी दुवै मुलुकले लाभ लिन सक्छन् । ’
उहाँले इजरायलमा उल्लेख्य संख्यामा महिला कामदारसहित ४५ सय नेपालीहरु विभिन्न क्षेत्रमा कार्यरत रहेकाले उनीहरुको तलव, वीमा, विदा लगायतका सुविधाहरु सुनिश्चित गराउने सन्दर्भमा इजरायल सरकारको सकारात्मक पहल अपेक्षित रहेको बताउनुभयो ।
‘नेपाली विद्यार्थीहरुका लागि इजरायल सरकारले संचालनमा ल्याएको ११ महिने ‘लर्न एण्ड अर्न’ कार्यक्रमले कृषि विषयमा सीप सिक्न तथा त्यससंग सम्बन्धित अत्याधुनिक प्रविधिबारे जानकारी पाउने मात्र नभई स्वयं आम्दानी समेत गर्न सक्ने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु’ उहाँले भन्नुभयो, ‘दुर्भाग्यवश, यस कार्यक्रमअन्तर्गत इजरायल गएका केही नेपाली विद्यार्थीहरुले ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी ज्यान गुमाउनुको साथै विपिन जोशीको अवस्थाबारे हालसम्म पनि जानकारी प्राप्त हुन सकेको छैन । यस विषयमा इजरायल सरकारले विशेष पहल गरी निज जोशीलाई नेपाल फिर्ती गराउन प्राथमिकता दिन विशेष अनुरोध गर्दछु।’
उपराष्ट्रपति यादवले नेपाल र इजरायलले संयुक्त राष्ट्र संघ लगायतका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरुमा आपसी सहयोग र सहकार्य गर्दै आएकोमा यसमा निरन्तरता पाउनेबारे आफू विश्वस्त रहेको बताउनुभयो ।
नेपालका लागि इजरायलका महामहिम राजदूत श्मुलिक एरी बासले हाम्रा दुई मुलुकबीच सहयोग र सहकार्य निरन्तर जारी रहने उल्लेख गर्दै इजरायलमा रहेका नेपाली कामदाहरुसंग भएको सम्झौता बमोजिम सुविधा पाए/नपाएको भन्नेबारे विभिन्न संघ/संस्थाहरुले अनुगमन गर्ने गरेको बताउनुभयो । ‘हाम्रा दुई मुलुकबीच केही सम्झौताहरु भईसकेको र केही प्रक्रियाका क्रममा रहेकाले ती सम्झौता पनि हुने विश्वास व्यक्त गर्दछु’ उहाँले भन्नुभयो, ‘इजरायलबाट विभिन्न किसिमको प्रशिक्षण लिएर आएकाहरु नेपालमा सफल भईरहेको जानकारी पाउँदा खुशी लागेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x