सात दिनमा सहमति छाता छुल्ल
झन्डै साढे दुई महिनापछिको गुटगत रस्साकसीपछि गत भदौ २६ गते सम्पन्न नेकपा स्थायी कमिटी बैठकले विभिन्न नेताहरुका नाममा सञ्चालित प्रतिष्ठान र संघसंस्थाहरु गुटबन्दीको माध्यम बन्दै गएकाले प्रतिष्ठानहरुलाई शाखा गठन तथा कुनै पनि गतिविधि गर्न नदिने निर्णय गरेको थियो ।
काठमाडौँ — नेताहरूका नाममा खुलेका प्रतिष्ठानका कारण गुटबन्दी बढेको भन्दै गतिविधि गर्न नदिने गरी स्थायी कमिटी बैठकले निर्णय गरेको सात दिन र अन्तरपार्टी निर्देशन जारी भएको तीन दिन नबित्दै निर्णयको उल्लंघन हुने भएको छ ।
प्रतिष्ठानलाई समानान्तर पार्टीको हैसियतमा देशव्यापी विस्तार गर्दा नेता–कार्यकर्ता गुटप्रति बढी इमानदार भएको भन्दै नेकपाले सर्कुलर जारी गरेको भए पनि मदन भण्डारी फाउन्डेसनले बिहीबारदेखि नै देशव्यापी कार्यक्रम गर्दै छ ।
संविधान र मदन भण्डारीलाई जोडेर देशैभरि गर्न लागिएको कार्यक्रमको बिहीबार तालिका सार्वजनिक गर्ने र शुक्रबारदेखि फाउन्डेसनको केन्द्रीय कार्यालयदेखि स्थानीय तहसम्मका कमिटीले आ–आफ्ना किसिमले कार्यक्रम आयोजना गर्ने फाउन्डेसनका केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए । बरालका अनुसार असोज ३ गते फाउन्डेसनले केन्द्रीय कार्यालयमा विचार गोष्ठी राखेको छ ।
उक्त गोष्ठीमा १५ जनाजति प्रत्यक्ष रूपमा भेला हुने र अरूलाई देशव्यापी रूपमा सञ्चारका विभिन्न माध्यमहरूमार्फत जोड्ने तयारी भइरहेको फाउन्डेसनका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले बताए । ‘संविधान दिवसको अवसर पारेर १५ गतेसम्म रक्तदान, सरसफाइ, विचार गोष्ठीलगायत कार्यक्रम देशव्यापी हुँदै छ, काठमाडौं जिल्लाका ११ वटै पालिकाले पनि गर्दै छन्,’ निरौलाले कान्तिपुरसँग भने, ‘नेपालको संविधान र मौलिक अधिकार शीर्षकमा विचार गोष्ठी हुनेछ ।’ उक्त कार्यक्रममा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेलाई बोलाएको भए पनि आउने/नआउने निश्चित भइनसकेको उनले बताए ।सभार इकान्तिपुर




