साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल सरुवा
दिनेश ठाकुर नेपालगन्ज असाेज २ — नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठा, कर्तव्यनिष्ठा र जनमुखी सेवाभावका साथ सेवा प्रदान गर्दै आउनुभएका सहायक प्रशासकीय अधिकृत लक्ष्मीकान्त मिश्राको बर्दियाको बढैयाताल गाउँपालिकामा सरुवा भएको छ।
मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय, लुम्बिनी प्रदेशको २०८३ भदौ ३१ गतेको निर्णयअनुसार मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा गरिएको हो।
नरैनापुर गाउँपालिकामा कार्यरत रहँदा मिश्राले वडा नं. १, २, ३ र ४ का वडा सचिवदेखि प्रशासन शिक्षा शाखा प्रमुख, सहकारी शाखा प्रमुख, विपद् व्यवस्थापन शाखा प्रमुख, जिन्सी शाखा प्रमुख तथा कार्यालयको सूचना अधिकारीलगायत विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको थियो।
आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा उहाँले साहसी कार्यशैली, कर्तव्यनिष्ठा तथा सेवाग्राहीमैत्री व्यवहारमार्फत सर्वसाधारण नागरिक, जनप्रतिनिधि र सहकर्मी कर्मचारीबीच विश्वास कायम गर्न सफल हुनुभएको बताइएको छ।
मिश्राले नरैनापुरमा रहँदा मालपोत, नापी तथा भूमि सुधारसम्बन्धी सेवा स्थानीयस्तरबाटै सहज रूपमा उपलब्ध गराउने उद्देश्यले भूमि प्रशासन शाखा स्थापना गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सरुवा हुनुभन्दा करिब १५ दिनअघि मात्र स्थापना गरिएको उक्त शाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै उहाँले सेवा प्रवाहलाई प्रभावकारी र तीव्र बनाउने प्रयास गर्नुभएको थियो।
लुम्बिनी प्रदेश सरकारले जारी गरेको अन्तरपालिका सरुवा मापदण्डअनुसार नयाँ भौगोलिक क्षेत्रमा काम गर्ने अवसर प्राप्त गरी अनुभव विस्तार, वृत्ति विकास तथा नयाँ ऊर्जाका साथ सार्वजनिक सेवा प्रदान गर्ने उद्देश्यले मिश्राले गत असार महिनामै सरुवाका लागि निवेदन दिनुभएको थियो।
नरैनापुरमा लामो समय सेवा गरेपछि बढैयाताल गाउँपालिकामा हुन लागेको सरुवाले उहाँलाई नयाँ कार्यक्षेत्रमा आफ्नो अनुभव र दक्षता प्रयोग गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। स्थानीयस्तरमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन उहाँले निर्वाह गर्नुभएको भूमिकाको सहकर्मी तथा सेवाग्राहीहरूले स्मरण गरेका छन्।


