सेनाले भारतबाट दुई करोड ४० लाख नेपाली रुपैयाँ बराबरको औषधि खरिद गर्ने

नेपाली सेनाले सरकार–सरकार (जीटुजी) प्रक्रिया अनुसार भारतबाट एक करोड ५० लाख भारतीय रुपैयाँ अर्थात् (दुई करोड ४० लाख नेपाली रुपैयाँ) बराबरको औषधि खरिद गर्न लागेको छ ।सेनाले भारतबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणको बेलाका आवश्यक पर्ने ५३ थरीका औषधि ल्याउन लागेको हो । सेनाले ल्याउन लागेका यी औषधिहरु भारत सरकारले उपलब्ध गराएकैबाट ल्याउन लागिएको हो ।सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार उक्त औषधि खरिदको लागि सेनाले रक्षा मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्न लागेको छ ।सेनाले भारतलाई त्यहाँ रहेको औषधिहरु र स्वास्थ्य सामग्रीको सम्बन्धमा पत्राचार गरेको थियो ।

जसको उत्तरमा भारतले आफूसँग ५३ थरीका औषधिमात्र उपलब्ध भएको र त्योमात्र दिन सक्ने जानकारी दिएको थियो ।त्यसपछि सेनाले भारतलाई ती औषधिको सूची र मूल्य पठाउनको लागि पत्राचार गरेको थियो । त्यही अनुसार सेनाले औषधिको अन्तिम सूची तयार गरेर बुधबार रकम निकासा गर्न लागेको हो ।सेनाले यसअघि नै अर्को छिमेकी मुलुक चीनसँग करिब २ अर्ब २६ करोड रुपैंयाको स्वास्थ्य सामग्रीको काम अघि बढाइसकेको छ । सभार कान्तिपुर



