२ श्रावण २०८३, शनिबार

स्वास्थ्य सामाग्री प्रदान गरी तरुण दिवस मनाईयो

एसीपी संवाददाता

१४ कार्तिक २०७७, शुक्रबार १३:२९ मा प्रकाशित

तरुण दल केन्द्रीय समितिले स्वास्थ्य सामग्री वितरण गरेर आफ्नो ६८ औं स्थापना दिवस मनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई चार हजार थान मास्क, ३० थान पीपीई सेट र ५२ थान फेस शिल्ड दिएर तरुण दलले स्थापना दिवस मनाएको हो ।
तरुण दल अध्यक्ष जितजंग बस्नेतले जनताको स्वास्थ्य रक्षाका लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेको स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गरी त्रिवि शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएर स्थापना दिवस मनाइएको बताए ।
‘तरुण दलको स्थापना दिवस कात्तिक १० गते भए पनि त्यो दिन दसैंको टीका परेकाले साप्ताहिक कार्यक्रमअन्तर्गत आज टिचिङ अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गरायौं,’ अध्यक्ष बस्नेतले भने । त्रिवि शिक्षण अस्पताललाई दिइएका स्वास्थ्य सामग्रीहरु नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानले उपलब्ध गराएका थिए । ती सामग्रीहरु हस्तान्तरण कार्यक्रममा तरुण दलका अध्यक्ष बस्नेतसहित, उपाध्यक्ष उत्तम चापागाईं, तरुण नेताहरु पदम भट्टराई, विनोद घिमिरे, आशिष रानालगायतको उपस्थिति थियो ।
विक्रम संवत् २०१० साल कात्तिक १० गते नेपाली कांग्रेसका तत्कालीन सभापति बीपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का थिए । तर २०१७ साल पुस १ गते तत्कालीन प्रधानमन्त्री बीपीसहितका नेताहरुलाई जेलमा हालेर तत्कालीन राजा महेन्द्रले ‘कु’गरेपछि तरुण दल पनि निस्क्रिय भएको थियो ।
वि.सं. २०५४ मा नेपालगञ्जमा भएको कांग्रेसको महासमिति भेलामा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेका थिए । त्यसयता तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव, उदयशम्शेर राणा र हाल जितजंग बस्नेत अध्यक्ष छन् ।
२०७३ कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा सम्पन्न चौथो महाधिवेशनले अध्यक्षमा बस्नेत, उपाध्यक्षमा उत्तम चापागाईं, महासचिवमा भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई सर्वसम्मत चयन गरेको थियो । ९५ सदस्यीय रहने केन्द्रीय समितिले पार्टीभित्रको आन्तरिक खिचातानीका हालसम्म पनि पूर्णता पाउन सकेको छैन । साभार अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x