हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन
धनगढी: मंगलबार बझाङको छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत सिंहको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ।
नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ र तरुण दल बझाङले घटनाको विरोध गर्दै प्रर्दशन गरेका हुन। प्रदर्शनकारीहरुले नेकपाका नेता तथा कार्यकर्ताले सुनियोजित रुपमा सिंहको हत्या गरेको भन्दै कारवाहीको माग गरेका छन्।
अमृत सिंह हत्या प्रकरणमा वडाध्यक्षसहित थप ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी र सोही ठाउँका केदार ऐडी रहेको बझाङका प्रहरी नायब उपरीक्षक खड्काले बताए।
उनीहरुलाई थलारा गाउँपालिकाबाट पक्राउ गरिएको खड्काले बताए। सिंहको हत्या गरेको आरोपमा छबिसपाथिभेरा–२ का ज्ञानबहादुर कडायत भने मंगलबार नै पक्राउ परिसकेका छन्। दिनेशखबर


