२३ आश्विन २०८३, शुक्रबार

अदालतको निर्णय अर्को थरुहट आन्दोलनको शुरूवात

एसीपी संवाददाता

५ पुष २०७७, आईतवार ०८:१२ मा प्रकाशित

‘सिताराम भाइ माघ तिह्वार मनैलक महाध्यार बरस होगिल बा, यी साल दाजुभाइ मिल्के संग यिह कारागार म हुइलसेफे माघ तिह्वार मनाइ परल है’
पोहोर सालको माघ अगाडि रेशम दाजुलाई डिल्ली बजार कारागारमा भेट्न जाँदा उहाँसँग भएको सम्बाद हो यो। संगीत र सँस्कृतिलाई मनमुटुमा राखी जिउने एउटा श्रस्टालाई सायद कुनै पुर्खालले रोक्न छेक्न सक्दैन। त्यो आभास उहाँबाटै झल्किदै थियो। ऊ जहाँ, जस्तो, जुन अवस्थामा रहेपनि कहीँ कतैबाट उसका आवाजहरु प्रस्फुटन भैरहेकै हुन्छ। आफ्नो समाजमा मुक्तिको लागि शासकको जन्जिरमा कैद भएको एक बहुप्रतिभाका धनी योद्धाको भौतिक शरीरलाई शासकले कैद गर्न सक्छन्, तर उनीहरुको बिचार, सिद्धान्त र सपनालाई कहिल्यै कैद गर्न सक्दैन। त्यो दिन मलाई त्यही महसुस भयो। दाजुसँग लामो भलाकुसारीपछि माघ १ गते भेट्ने वाचासहित विदा भयौँ।
माघ १ गते थारुहरुको सबैभन्दा ठूलो पर्व ‘माघ’ हो। त्यही दिन हामी देउखरका शिव, नन्दु दाजु गायत ११-१२ जना साथीहरू मिलेर रेशम दाजुसँग माघ तिह्वार मनाउन बिहानै डिल्ली बजार कारागार गयौं। दाजुले पहिल्यै भन्नुभाथ्यो थारुहरुको माघ पर्व मलाई एकदमै मनपर्छ, मलाई नि सहभागी हुने इच्छा छ, सहभागी गराउनु है भनेर कृष्णबहादुर महराजीले भनिराख्नु भाछ, हामी दुई जना माननीय हुन्छौं भनेर पहिल्यै जानकारी गराइसक्नु भाथ्यो। हामी थारु परिकार घोङी, ढिक्री, सुरिक सिकार कोसेली लिएर कारागार पुग्यौं। थारुको संस्कारअनुसार त्यो दिन हामी रेशम दाजु र कृष्णबहादुर महरा दुबै जनालाई पगरी पहिराएर सबै साथीहरू उहाँ दुईजनाबाट ढ्वाग सलाम (आशीर्वाद) लियौं। पूर्व सभामुख महरा कम्रेडले थारुहरुको परिकार एकदमै स्वादिस्ट मानेर खानु भयो। माघ महोत्सवको आयोजक भएकोकाले त्यो दिन हामी एकदम ब्यस्त थियौं। कारगारबाट विदाइ हुने बेला रेशम दाजुले सोध्नुभयो- ‘आझुक बर्का पहुना के बा ?’ मैले प्रचण्ड भने।
‘बहुत मजा कर्लो भाइ, प्रचण्डसे ध्यार और कोनो नेता हमार पीडा निबुझ सेकि। उहिहन दिल खोलके हमार बात सुनै हो। जोन मञ्चम आज तैँ बैठल बात्या उहिसे एक क्वास दूर एक्ठो केल नाइ दुइठो निर्दोष सांसद जेल म ठुनल बाट अभिन, कहियासम थुन्ना विचार बा? प्रचण्डसे जवाफ मन्ग हो भाइ’।
त्यही कुराकानीसँगै अर्का माननीय कृष्णबहादुर महरा पनि आफ्नो धारणा राख्नुभयो। ‘नेपालको राजनीति बुझी नसक्नु छ। आज कस्तो सञ्जोग भनौ कि विडम्बना सपथ खुवाउने र खाने दुबै माननीय हामी कारगारमा छौं। तपाईँहरुको कार्यक्रममा प्रचण्ड आउँदैछन्, सबै कुरा बुझेर पनि माननीय रेशम चौधरीहरुलाई किन जेल कोचिराख्नु भाछ? कहिलेसम्म थारुहरुलाई दुःख दिइराख्ने हो छुटाउनु पर्दैन? यति कुराचाहिँ प्रचण्डलाई भन्नुपर्यो तपाईंहरु।’ उहाँहरुको कुरालाई मनमा लिँदै हामी टुडिखेलमा भइरहेको माघ महोत्सव कार्यक्रमतिर लाग्यौं।

थारुको हरेक पुस्तालाई राजनीतिकरुपमा सिध्याउने राज्यको यो दमनकारी योजनाविरुद्ध अबको युवा पुस्ताले विद्रोह गर्न सकेनन् भने फेरि १० वर्षपछि थारुको छोराछोरीहरु कमैया कमलरी बन्ने पक्का छ।

२०७६ साल माघ १ गते टुडिखेलमा टीकापुर घटनाको विषयलाई लिएर ठूलो अवाज उठ्यो। कार्यक्रममा वक्ताहरुले एकदमै आक्रोशित हुँदै प्रचण्डलाई भन्दै थिए, १७ हजार जनताको ज्यान लिनेहरु आज सत्तामा छन्, त्यही थारुको रगतबाट सत्तामा पुगेका शासकहरु उनीहरुकै समुदायलाई दमन गर्दैछन्, जानाजान टीकापुर राजनीतिक घटनालाई अपराधिक घटना बनाएर सोझो थारुहरुलाई आजीवन जेल कोच्ने शकुनी रच्दैछन्। हजारौं हजार मतबाट जननिर्वाचित भइसकेका माननीय रेशम चौधरीसँग यति डर किन?
अस्पतालभित्र पनि उहाँलाई जन्जिरले बाँधिनुपर्ने? वक्ताहरुको सबालप्रति प्रचण्ड एकदमै गम्भीर थिए र आक्रोशित पनि। प्रचण्डले जवाफ दिँदै खुलारुपमा स्वीकार गर्दै ‘जनयुद्धमा १७ हजार त होइन, ५ हजार जनताको ज्यान गएको जिम्माचाहिँ म लिन्छु। बाँकी त्यही बेलाको राज्यसत्ताले लिनुपर्छ’ भनेर लाखौं जनतासामु स्वीकार्नु भयो। रेशम चौधरीलगायत टीकापुर आन्दोलनमा जेल परेकाहरु छिट्टै छुटाउने वाचा पनि गर्नु भयो। विडम्बना आज प्रचण्डले वाचा गरेको एक वर्ष नबित्दै उल्टो परिणाम देखिएको छ।
पूर्व सभामुख कृष्णबहादुर महरा त छुटे तर थारुहरु छुटेनन्। उल्टै दिपायल उच्च अदालतले जेलबाट छुट्टिसकेका लक्ष्मण थारु लगायत ८ जनालाई जन्मकैदको फैसला गरेको छ। बाँकी राजबन्दीलाई थप सजाय तोकेको छ।
झापा आन्दोलनमा भुटन चौधरीको हत्या गर्ने नाइकेहरु आज देशको प्रधानमन्त्री छन्, २००७ सालमा हतियार बोकेर आन्दोलन गर्ने, बम प्रहार गरी हजारौंको ज्यान लिने कङ्ग्रेसी नेताहरु कैयौंपटक देशको प्रधानमन्त्री भए, एक दशक लामो सशस्त्र माओवादी विद्रोह गरेर १७ हजार जनताको ज्यान लिनेहरु पनि देशको प्रधानमन्त्री भए। यी सबै आफूले अगुवाइ गरेको आन्दोलनलाई राजनीतिक परिवर्तन देख्ने नेताहरु थारुले आफ्नो अधिकार, पहिचान र अस्तित्व रक्षाको लागि गरिएको टीकापुर आन्दोलनलाई किन जबर्जस्त अपराधि सावित गर्न खोज्दैछन्?
हिजो थारुको जमिन खोसेका शासकहरु आज थारुका आवाज खोस्न लागिपरेका छन्। वर्षौंदेखि विभेदमा पारिएका थारुहरु कहिलेसम्म शासकको विभेद् थेग्ने हुन्? थारुको हरेक पुस्तालाई राजनीतिकरुपमा सिध्याउने राज्यको यो दमनकारी योजनाविरुद्ध अबको युवा पुस्ताले विद्रोह गर्न सकेनन् भने फेरि १० वर्षपछि थारुको छोराछोरीहरु कमैया कमलरी बन्ने पक्का छ।
यो कुनै ब्यक्तिगत लडाइँ होइन, न कुनै जाति समुदायविरुद्ध हो। यो लडाइँ राज्यको विभेदकारी नीति, प्रवृत्ति र ब्यवहारप्रति हो। अहिले सासकहरु सबै न्यायालयलाई आफ्नो कब्जामा लिएर सबै न्यायिक बाटोहरु बन्द गरेर थारुहरुमाथि जुन किसिमले दमन अत्याचार गरिरहेका छन्, यसले कहीँ न कहीँ अर्को टीकापुर बिस्फोट हुने पक्का छ।
अध्यक्ष
थरुहट थारुवान राष्ट्रिय युवा शक्ति / साभार थारुवान.कम बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x