४ श्रावण २०८३, सोमबार

कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित छैन-काङ्ग्रेस वरिष्ठ नेता पौडेल

एसीपी संवाददाता

१८ मंसिर २०७७, बिहीबार १६:५० मा प्रकाशित

तनहुँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी नहुने बताएका छन् । बिहीबार गृह जिल्ला तनहुँको व्यास नगरपालिका– १, १० र ११ जोड्ने तालघारेस्थित बुल्दी खोला पुल उद्घाटन गर्दै नेता पौडेलले कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित नभएको समेत बताएका छन् ।

‘कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित छैन, त्यो हिजोको घटनाले पनि देखाएको छ’, नेता पौडेलले भने, ‘कुनै कारण, कुनै औचित्य पनि नभएको तर पुल उद्घाटन कार्यक्रमलाई बिथोल्न निषेधाज्ञा जारी गरेर मलाई धरपकड गरियो । यो लोकतन्त्रमाथिको नांगो नाच हो ।’
‘यो निषेधाज्ञा रामचन्द्र पौडेलका लागि मात्र होइन, दमौली र व्यास नगरपालिकाको वडा नम्बर १, ११ र १० का जनताका विरुद्ध मात्र पनि होइन’, पौडेलले भने, ‘यो निषेधाज्ञा सारा नेपाली जनताको अधिकारमाथिको निषेधाज्ञा हो । यसले मौलिक प्रश्न उठाएको छ, पाडो खानेले बाच्छो राख्दैन ।’ नेता पौडेलले भने, ‘कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित छैन । यो सिद्ध भएको छ । लोकतन्त्र संस्थागत गर्न अझै बाँकी छ, आजको यो हाम्रो उपस्थितिले त्यहीँ संकेत गरेको छ, अब आन्दोलनको सुरुवात भएको छ ।’

त्यस्तै, नेता पौडेलले राजनीतिलाई सुधार गर्नुपर्ने बताएका छन् । ‘राजनीतिमा विकृति व्याप्त छ, यसलाई पखालेर फाल्नुपर्छ र लोकतन्त्र साकार हुनुपर्छ’, उनले भने, ‘नेपाली कांग्रेसले नेपाली समाजलाई लोकतान्त्रिकरण गर्न लागि परेको छ । त्यसैले नेपाली कांग्रेस पहिला आफैं लोकतान्त्रिक बन्नुपर्छ । आफूभित्र भएको विकृतिलाई सुधार गर्दै अगाडि बढ्नुपर्छ ।’

‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र सही रूपमा चरितार्थ नगरी, परिवर्तनलाई साकार नगरी अब यो आन्दोलन रोकिँदैन,’ नेता पौडेलले थपे, ‘लोकतान्त्रिक समाजवादका लागि अब हामी आन्दोलन अगाडि बढाउछौं, पक्षपातका विरुद्ध आन्दोलन गर्छौं ।’

अवसरवादले मुलुकलाई बिगारेको चर्चा गर्दै नेता पौडेलले सिद्धान्त हीन सत्ताले गर्दा जनतामा निराशा आएको बताए । यो सरकार अवसरवादको बाटोमा हिँडेको उनको आरोप थियो ।

‘नेपालको राजनीतिमा धेरै विकृति आयो, सिद्धान्त विहीन राजनीति, जोड घटाउको राजनीतिले विकृति आयो, अब सिद्धान्तको आधारमा राजनीति गरे देश बन्छ, देशलाई बनाउने हो भने सिद्धान्तमा अडिएर राजनीति गर्नुपर्दछ’, पौडेलले भने, ‘आजको युग समाजवादको युग हो, आजको युग लोकतान्त्रिक समाजवादको युग हो । लोकतान्त्रिक समाजवादको युग हो । अब हुने कुनै पनि आन्दोलन कुनै प्रतिगमनलाई स्वागत गर्ने हुँदैन लोकतान्त्रिक समाजवादलाई स्थापित गर्ने गरी हुन्छ ।’

त्यस्तै, नेता पौडेलले अबको आन्दोलन भविष्यका लागि हुने र अब अतिततिर फर्कने होइन अगाडि तिर जानु पर्दछ भनेका छन् । ‘हिजो दमौलीमा घटेको घटनाले आज नेपालमा तरंग आएको छ । प्रजातन्त्रवादीहरूको मनमा चस्को पसेको छ, ढ्यांग्रो बजेको छ’, उनले भने, ‘यो भ्रष्टचार, पक्षपात, कुशासनमा लिप्त सरकारका विरुद्ध पनि अब आन्दोलन चर्किन्छ ।’

नेता पौडेलले अब गरिने आन्दोलन अख्तियारलाई पनि ठेगान लाउने आन्दोलन हुने बताए । उनले सर्वसत्तावादको विरुद्ध संघर्ष गरिने बताए । उनले न्यायिक निकायलाई पनि सावधान गर्ने आन्दोलनको आवश्यकता रहेको बताए ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले बुधबार उद्घाटन गर्न नपाएको पुल उद्घाटनका लागि बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए । बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई करिब तीन घण्टापछि छाडेको थियो । बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन । बिहीबार कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।

सत्ता र शक्तिको दुरुपयोग गरी उपभोक्ता समिति, स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छा विपरीत तनहुँको कार्यक्रम रोक्ने काम भएको पुल उद्घाटन कार्यक्रममा सहभागि कांग्रेसका नेताहरूले बताएका छन् ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर अधिकारीको अध्यक्षतामा आयोजित पुल उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय नेताहरू शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल, ध्रुव वाग्लेलगायतका नेताहरूले घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेका थिए ।

कार्यक्रमका वक्ताहरूले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत नेपाली जनता, नेपाली कांग्रेसमाथिको घोर अपमान र अत्याचार प्रति खेद व्यक्त गर्दै अब कम्युनिस्ट तानाशाह प्रवृतिविरुद्धको आन्दोलन जारी रहने बताएका छन् ।ईकान्तिपुर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x