काँग्रेसद्वारा गठित कोभिड १९ अनुगमन समिति बाँकेको आयोजनामा नेपालगन्जमा प्लाज्मा दान
नेपाली काँग्रेसद्वारा गठित कोभिड १९ अनुगमन समिति बाँकेले नेपालगन्जमा प्लाज्मा दान कार्यक्रमको आयोजना गरेको छ ।
शनिवार आयोजना गरिएको कार्यक्रममा १० जनाको प्लाज्मा संकलन गरिएको छ । कोरोना भाईरस उपचारमा आवश्यक पर्ने प्लाज्माको अभावलाई पुरा गर्न प्लाज्मा दान कार्यक्रमको आयोजना गरिएको आयोजक समितिका संयोजक लक्ष्मीनारायण शाहले जानकारी दिनुभयो । उहाले यो अभियानले आगामी दिनहरुमा पनि निरन्तरता पाउने बताउनुभयो । प्लाज्मा दिनेहरको शुक्रवार पीसीआर तथा एन्टिबडी जाँच गरिएको थियो । जसमा ३७ जनाको नमुना संकलन गरिएको थियो । कोरोना भाइरस संक्रमणबाट गम्भीर अवस्थामा पुगेका विरामीलाई प्लाज्मा विधिबाट उपचार गर्ने गरिएको छ । उक्त प्लाज्मामा संक्रमित व्यक्तिसँग लड्ने एन्टिबडीको विकास भएको छ छैन भनेर पुनः पीसीआर गरेर एन्टिबडी जाँच गरिन्छ । संक्रमणबाट मुक्त भएका कतिपय व्यक्तिहरुबाट निकालिएको प्लाज्माले विरामीलाई रिकोभरी नगरेपछि एन्टिबडी जाँच गरेरमात्र प्लाज्मा निकाल्ने गरिएको छ । यसअघि नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कार्यक्रमको उदघाटन गदै सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रभावकारी भूमिका निभाउन नसकेको बताउनुभयो । उहाले काँग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्गत संक्रमितको उपचारमा सहयोग पुगोस् भनेर देशभर प्लाज्मा दान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।




