उनलाई नजिकबाट चिन्नेहरू भन्छन्– सिटौला ‘गोप्यता र सन्तुलन’ कायम गर्न माहिर छन् । महामन्त्री छँदा कार्यकर्ताहरूलाई रणनीतितहत काम गर्न सुझाउँदथे । अन्तर्राष्ट्रिय शक्तिमाझ पनि सिटौला घुलनशील र विश्वासिला पात्र हुन् ।
कुनै बेला कोइराला क्याम्पका चाणक्य सिटौला यतिबेला भने सभापति शेरबहादुर देउवाको विश्वासपात्र छन् । सिटौलाको राष्ट्रियसभा सिटले उनलाई पार्टी सभापति बन्नेसम्मको लक्ष्यलाई निर्दिष्ट गरेको देखिन्छ । कांग्रेसको पन्ध्रौँ महाधिवेशन लगभग २०८२ सालपछि नै हुनेछ । त्यसमाथि सभापति शेरबहादुर देउवा नेतृत्व हस्तान्तरणका लागि अनुकूल पात्रको खोजीमा छन् भन्ने बुझिन्छ ।
नेपाली कांग्रेसभित्र तेस्रो धार बनाउने सिटौलाको प्रयोग केही हदसम्म सफल पनि रह्यो । संगठनमा दुई पक्षबीचको घर्षणमा सिटौलाले तेस्रो शक्तिका रूपमा आफूसँगै पछिल्लो पुस्तालाई विकल्पको बाटो सुझाए । नेतृत्वसँग असन्तुष्ट पक्षलाई समेटेर संगठनमा मजबुत उपस्थिति जनाउन सिटौला सफल हुन् । भलै यसअघि उनी आफु स्थापित हुन सकेनन् ।
गिरिजाप्रसाद कोइरालासँग असन्तुष्टहरूलाई आफूतर्फ आकर्षित गरेर त्यसको नेतृत्व गर्दै शेरबहादुर देउवा यहाँसम्म आइपुगेका हुन् । त्यतिबेलाको मध्यमार्गी धार असफल भयो । त्यसको नेतृत्व रामचन्द्र पौडेलले गर्ने प्रयास गरेका थिए ।
कांग्रेसभित्र कोइरालाको वर्चस्वलाई चुनौती दिनु चानचुने विषय हुँदैन । तर, त्यही कोइराला परिवारलाई विभक्त गरेर देउवाले आर्जन गरेको शक्ति कम्ता रोमाञ्चकारी छैन ।
अघिल्लो पुस्ताको तुलनामा पार्टी संगठनमा कम समय बिताएका कोइराला परिवारका पछिल्लो पुस्ताको एकआपसमा रहेको अविश्वासको लाभ सभापति देउवाको पोल्टामा छ ।
कांग्रेसभित्र वैचारिक संघर्षका कारण समूह बन्ने होइन, नेतृत्वमा पुग्न र आफ्ना समर्थकलाई स्थापित गर्न समूह बन्छन् । अनि लक्ष्य सत्ता हुन्छ । त्यसका लागि संसदीय दल पर्यायी बन्छ । संसदीय दलका लागि सभापति पदले अनुकूलता थप्छ । उसो त, सभापति नभएरै संसदीय दलको नेता हुने सौभाग्य पनि देउवाले नै पाएका थिए । कृष्णप्रसाद भट्टराई त्यसको अपवाद पात्र हुन् ।
यतिबेला पनि कांग्रेसभित्र २०४६ सालकै सेरोफेरोका भट्टराई लिगेसी र कोइरालापक्षीयहरू संगठनमा स्थापित हुन आन्तरिक रूपमा संघर्षरत छन् । समकालीन सांगठनिक राजनीतिमा भट्टराईपक्षीयहरू एकत्रित देखिन्छन् । त्यसको तुलनामा कोइराला पक्ष विभक्त छन् । त्यही कोपभाजनबाट राजनीतिक सांगठनिक कोर्स करेक्सन गर्नेमध्येका एक हुन् सिटौला ।
गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका ‘किचेन क्याबिनेट’ मा संगठन र सत्ताको रोटी पकाएका सिटौला कोइराला परिवारकै पछिल्लो पुस्ताका लागि बिझाउने काँडा भए । राजनीतिक रूपमा कोइराला लिगेसीलाई अघि बढाउन कोइराला परिवार पछि पर्यो । सिटौला त्यसको सबैभन्दा चोटिला पात्र भएर निस्किए ।
२०७२ सालमा संविधान जारी गरे लगत्तै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिने र एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बनाउने विषयले नै सिटौलालाई कोइराला लिगेसीबाट दूर गरायो । उतिबेला कांग्रेसबाट सिटौलाको नेतृत्वमा एमाले ओली नेतृत्वमा कांग्रेस सरकारमा जाने तयजस्तै थियो । रातारात सुशील कोइराला फेरि पीएम क्यान्डिडेट बनाइए । लगभग त्यहीँबाट सिटौलाको कोइराला लिगेसीसँगको नाता टुङ्गियो ।
पूर्वका कोइराला र पश्चिमका देउवाको राजनीतिक सांगठनिक विरासतको प्रतिस्पर्धा छ । पूर्वको कोइराला कांग्रेसीको कोशी भेललाई आफूतर्फ ढल्काउने एउटा भँगालोका रूपमा सिटौला देउवाका लागि उपयुक्त पात्र बन्दै गइरहेका छन् ।
अनि त सिटौलाले सत्ताको भन्दा संगठनमा आफ्नो भविष्य सुरक्षित खोज्दै तेस्रो धारको अवधारणा अघि बढाए । तेह्रौँ महाधिवेशनमा सभापतिका प्रत्यासीसम्म भए सिटौला । शक्ति आर्जनका लागि त्यो सूत्र अप्रत्यक्ष रूपमा लाभदायी भयो । चौधौँ महाधिवेशनमा उनलाई पार्टीसत्ताको नर्थ पोलबाट सोझै देउवाको साउथ पोलमा प्रवेश मिल्यो । शक्ति सन्तुलन गर्दै सिटौलाले आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा फेरि एकपटक शक्ति आर्जन गर्ने अवसर पाएका छन् ।
सभापति देउवा राजनीतिक जीवनको उत्तरार्द्धमा आफूअनुकूल पात्रलाई नेतृत्वमा स्थापित गराउने प्रयासमा छन् । त्यसका लागि सबैभन्दा ठूलो चुनौती उनको आफ्नै समूह एक ढिक्का राख्न सक्ने कि नसक्ने भन्ने हो ।
त्यसका लागि फेरि एकपटक चौधौँ महाधिवेशनमा फर्किनुपर्छ । महाधिवेशनताका बालकृष्ण खाँण गृहमन्त्री थिए । तर उनी महामन्त्रीको दाबेदार पनि थिए । डा. प्रकाशशरण महतले महामन्त्रीमा जित निकाल्न सकेनन् । देउवा समूहको एउटा खेमा आफ्नै समकक्षीसँग सशंकित थिए । त्यही पृष्ठभूमिमा विमलेन्द्र निधिसमेत कोपभाजनमा परे । पूर्णबहादुर खड्कासहितका नेताहरूको सुरक्षित अवतरण भयो ।
यावत प्रसंगहरूले सभापति देउवा संस्थापन पक्षलाई एक ढिक्का राख्न सक्नेछन् वा छैनन् भन्ने विषय महत्त्वपूर्ण छ । देउवालाई यति नै बेला पत्नी आरजु राणा देउवालाई संगठनमा स्थापित गराउनुपर्ने आवश्यकता पनि छ । राणा केन्द्रीय राजनीतिमा अटाइसकेकी पात्र हुन् । सुदूरपश्चिमको देउवा विरासतको राजनीतिमा एनपी साउद, रमेश लेखक हुँदै अब प्रकाश देउवा पनि जुरमुराएका छन् । यो परिवेशलाई केलाउँदा सभापति देउवालाई राजनीतिको एउटा ह्याप्पी इनिङ खेल्ने अवसर र चुनौती दुवै छ ।
यही सेरोफेरोमा पूर्वका कोइराला र पश्चिमका देउवाको राजनीतिक सांगठनिक विरासतको प्रतिस्पर्धा छ । पूर्वको कोइराला कांग्रेसीको कोशी भेललाई आफूतर्फ ढल्काउने एउटा भँगालोका रूपमा सिटौला देउवाका लागि उपयुक्त पात्र बन्दै गइरहेका छन् । राष्ट्रियसभाको निर्वाचनबाट सिटौला उदाए भने उनी स्वाभाविक रूपमा कांग्रेसको आगामी सभापतिका जबर्जस्त उम्मेदवार बनाइनेछन् । सिटौला पार्टीमा मात्रै नभएर राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय शक्तिमाझ घुलनशील पात्र पनि हुन् । कतिपय उच्च तहका कांग्रेसी र कतिपय अन्तर्राष्ट्रिय शक्तिहरू यो विषयमा छलफलरत भन्ने पनि बुझिन्छ ।
यी र यस्ता पृष्ठभूमिकै बीचबाट सभापति देउवा ‘वान टाइम’ प्रधानमन्त्रीको अफरसहित कोइरालाहरूमाझ जान सक्छन् । सभापति देउवाले कोइरालाहरूमध्येका एक प्रभावकारी पात्रलाई फेरि आफूअनुकूल बनाउन सक्ने सूत्रलाई अघि सार्न सक्ने बलियो र प्रचुर सम्भावना छ । पार्टी राजनीतिमा सभापति देउवा फेरि अनुकूल वातावरणको तयारीमा कसरतरत छन् भन्ने सूचना पक्कै कमजोर आधार होइन । त्यसको पृष्ठभूमि यो काममा सभापति देउवाका यसअघिका सबै निर्णय फलदायी देखिएका छन् ।
त्यति मात्रै होइन, कोइरालात्रयलाई रोक्न उनीसँग प्रकाशमान सिंह, विमलेन्द्र निधि, विश्वप्रकाश शर्मालगायतका पात्रहरूसमेत उपलब्ध रहनेछन् । सिटौलासँगै महामन्त्री विश्वप्रकाश शर्मासमेत संस्थापनपक्षीय नयाँ समीकरण निर्माणले कोइराला पक्षलाई चुनौती दिन सक्ने बुझिन्छ ।
राष्ट्रियसभाको निर्वाचनलगत्तै कांग्रेसको आन्तरिक ध्रुवीकरण तीव्र रूपमा अघि बढ्ने विषय उच्च तहका बैठकमा उठिरहेको सन्दर्भ हो । त्यसलगत्तैको समिति बैठकले कांग्रेसको संगठनभित्रको रुझान देखाउन सुरु गर्नेछ । यसरी विकसित भइरहेका पछिल्ला र अघिल्ला घटनाक्रम र सन्दर्भसहितका ‘कांग्रेस कोर’ छलफलबाट कृष्णप्रसाद सिटौला पन्ध्रौँ महाधिवेशनमा फेरि एकपटक पार्टी सभापतिको मजबुत उम्मेदवारका रूपमा आउन सक्ने देखिन्छ ।
अर्कोतर्फ, महामन्त्री गगनकुमार थापासहितका लागि नयाँ समीकरणका लागि घनीभूत प्रयास गर्नुपर्नेछ । यतिबेला सभापति देउवाको संस्थापन पक्षमा उपसभापति पूर्णबहादुर खड्का र इतर पक्षमा महामन्त्री थापा आफ्नै समूहका अविश्वासिला पात्रझैँ तैरिइरहेका छन् । महामन्त्री थापा सधैँ आफ्नो पुरानो समूहमा भन्दा नयाँ समूहप्रति आकर्षित रहन्छन् । त्यसका आधारमा समीकरण निर्माण गरेर अघि बढ्छन् ।
हुन त पार्टी राजनीति हो । सबै सम्भावना खुल्ला नै रहन्छन् । फरक यत्ति हो, निर्णय कसको पक्षमा फलदायी सावित हुने भन्ने मात्र हो । शिलापत्र