१५ भाद्र २०८३, सोमबार

के बालकृष्ण खाणले गुट परिवर्तन गरेका हुन् ?

एसीपी संवाददाता

१ श्रावण २०८२, बुधबार १६:०१ मा प्रकाशित

सम्मेलनको क्रममा खाणले धेरै विषयबारे बोले। त्यसमध्ये दुई वटा विषय भने थप महत्त्वपूर्ण थिए। पहिलो, कोइराला निवासको बखान र दोस्रो, अनुशासन समितिको पछिल्लो कारबाही।

पत्रकारहरूले ‘तपाईंले धार (गुट) परिवर्तन गर्नुभएको हो?’ भनेर प्रश्न गर्न बिर्सिएनन्। जवाफमा खाणले कोइराला निवासमा पुग्नुलाई गुट परिवर्तनका रूपमा बुझ्न नहुने बताए। ‘कोइराला सम्झिँदा मेयर नागेश कोइराला मात्रै सम्झनुभएन कि ? कृष्णप्रसाद कोइराला, बीपी कोइराला, मातृका कोइराला, गिरिजा प्रसाद कोइराला र सुशील कोइराला पनि सम्झनुपर्छ। कोइराला निवासमा कांग्रेसीजन मात्र होइन, सबै नेपाली बारम्बार आइरहनुपर्छ,’ उनले भने।

उनले कोइराला निवासलाई ‘पवित्र तीर्थस्थल’ भने। ‘कोइराला निवास त हाम्रो लागि पवित्र भूमि हो। यो कुनै धार्मिक स्थल गएजस्तै हो। यहाँ आउँदा कुनै मन्दिरको प्राङ्गणमा गएर जमिन स्पर्श गरेजस्तै थप ऊर्जा र प्रेरणा मिल्ने विश्वास राख्छु,’ उनले भने।

कोइराला निवासमा खाणको पत्रकार सम्मेलन। 

खाण पछिल्लो पटक पार्टीको अनुशासन समितिले चलाएको कारबाहीको ‘डन्डा’बारे असनुष्ट सुनिए। कारबाहीका बारेमा प्रश्न उठेको उल्लेख गर्दै खाणले त्यसको जवाफ अनुशासन समितिले नै दिनुपर्ने बताए। ‘पार्टीले नेताहरूलाई कारबाही गरेको विषयमा एकपक्षीय भयो भन्ने प्रश्न उब्जिएको छ, त्यो स्वाभाविक हो। त्यसका विषयमा अनुशासन समितिले नै स्पष्ट पार्नुपर्छ,’ उनले भने।

पछिल्लो पटक पार्टीको अनुशासन समितिले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालसहित दर्जनौं नेताहरूलाई गएको निर्वाचनमा असहयोग गरेको भन्दै कारबही गरेको छ। उक्त कारबाहीलाई संस्थापनइतर पक्ष (डा. शेखर कोइराला) ले छानी-छानी एकपक्षीय ढङ्गबाट कारबाही गरिएको भन्दै विरोध जनाएको छ। यही पृष्ठभूमिमा खाणले प्रश्न उठ्नु स्वाभाविक भन्दै त्यसबारे कारबाही गर्ने निकाय अनुशासन समितिले नै स्पष्ट पार्नुपर्ने बताएका हुन्।

जसै, पछिल्लो समय खाण पार्टी सभापति शेरबहादुर देउवासँग खुसी छैनन्। पहिले देउवा गुटमै रहेका खाण आफू थुनामा रहँदा सहयोग नगरेको भन्दै देउवासँग त्यति खुसी छैनन्। यही पृष्ठभूमिमा कोइराला निवास पुगेर पत्रकार सम्मेलन गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। चर्चा त के पनि छ भने आउँदो महाधिवेशनमा खाण कोइराला पक्षबाटै पदाधिकारीमा उठ्दैछन्! तर, यो विषयलाई भने उनले सीधै नकारे। यसबारे आफूले सोचिनसकेको उल्लेख गर्दै नेताहरूका अजेन्डाअनुसार आफूले साथ दिने बताएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा।

पार्टी सभापति देउवानिकट नेता मीन विश्वकर्मा भने यसलाई ‘नेताहरूले आ-आफ्नो नेता खोजेको’ रूपमा बुझ्नुपर्ने बताउँछन्। १५औं महाधिवेशनको सम्मुखमा देउवा नउठ्ने तर, देउवाको उत्तराधिकारी नहुँदा यस्तो हुनु स्वाभाविक रहेको उनको भनाइ छ।

‘शेरबहादुर दाइले नउठ्ने भनिसकेपछि अब सबै नेताहरूले राजनीतिक सुरक्षा र सहजताका लागि आ-आफ्ना नेता खोज्दै हुनुहुन्छ। अब उहाँ (शेरबहादुर देउवा) ले मपछि यो है भनेर पनि भनिदिनुभएको छैन, यदि त्यसो हुन्थ्यो भने उसले नेताहरूलाई पक्रेर राख्थ्यो होला तर, अहिले शेरबहादुर दाइ नउठ्ने तर, अर्को मान्छे नहुने हुँदाखेरि यस्तो हुन्छ। यसै रूपमा यसलाई बुझ्नुपर्छ,’ विश्वकर्माले भने। नागरिकन्युज बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x