कैलालीमा अवैध सुनजस्तो देखिने पदार्थसहित एक जना पक्राउ
धनगढी, भदौ ३ — कैलालीमा भन्सार छली गरी ल्याइएको करिब २२ लाख रुपैयाँ मूल्य बराबरको सुनजस्तो देखिने पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१ बाट ३६ वर्षीय दिपक गौरलाई नियन्त्रणमा लिएको हो। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ घर भएका गौरले अवैध रूपमा सुन बोकेर कारोबारका लागि हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई फेला पारेको थियो।
खानतलासीका क्रममा उनको खल्तीबाट ८१ ग्राम ८८० मिलिग्राम तौल भएको सुनजस्तो देखिने पदार्थ बरामद गरिएको छ। यसको बजार मूल्य २१ लाख ६२ हजार १२३ रुपैयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीले गौरको साथबाट ‘निलो सुन चाँदी गहना पसल’ को नाममा रहेको एक थान बिलसमेत फेला पारेको छ। तर, उक्त बिलमा कुनै छाप नरहेको र बरामद पदार्थको वैध स्रोतसमेत खुलाउन नसकेपछि प्रहरीले त्यसलाई जफत गरेको हो।
बरामद गरिएको सुनजस्तो देखिने पदार्थ र पक्राउ परेका गौरलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय, त्रिनगरमा बुझाइएको प्रहरीले जनाएको छ।


