२ श्रावण २०८३, शनिबार

कोरोना महामारीका बेला बाँकेमा डेंगुका बिरामी संख्या उत्कर्समा

एसीपी संवाददाता

१३ कार्तिक २०७७, बिहीबार ०६:४३ मा प्रकाशित

प्रियास्मृति ढकाल स्वास्थ्यपेज
नेपालगन्ज १३, कात्तिक ।
कोरोना महामारीका बेला बाँकेमा डेंगुका बिरामी बढेका छन्। जिल्लामा रहेका ठूला अस्पतालहरुमा विगत दुई महिना यता डेंगुका बिरामीहरु थपिदै गएको अस्पतालहरुले जानकारी दिएका छन् । भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज र कोहलपुर मेडिकल कलेजलगायतका अस्पतालहरुमा डेंगुका विरामीहरु दिनहुँ झै फेला परेका छन् । भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा खगेन्द्र जंग शाहले डेंगुका बिरामीहरु बढ्दै गएको बताउनुभयो ।

एकै परिवारका ६-७ जनामा पनि डेंगुको संक्रमण देखिएको छ उहाँले भन्नुभयो-डेंगु भाइरलले प्रकोपकै रुप लिने जोखिम देखिन्छ । नेपालगन्जको कारकाँदो क्षेत्रमा एकै परिवारका ६ जनामा डेंगु देखिएको उहाँले बताउनुभयो । कोरोना भाइरससँग केही मिल्दा जुल्दा लक्षण समेत डेंगुका हुने गरेका छन् । रुघाखोकी, ज्वरो र हातखुट्टा दुख्ने कोरोना र डेंगुका मिल्दा जुल्दा लक्षण भएपनि अन्य लक्षण भने फरक नै हुने चिकित्सकहरु बताउँछन् ।

डेंगु एक भाइरल रोग
डेंगु विषाणुको टाइप १, टाइप २, टाइप ३ र ४ भाइरसको तीव्र संक्रमणले डेंगु रोग लाग्छ। ‘हाडतोड ज्वरो’ भनिने डेंगु रोगको संक्रमण भए तीनदेखि एकहप्तासम्म उच्च ज्वरो आउने नेपालगन्ज मेडिकल कलेज कोहलपुरका फिजिसियन डा प्रबेश पन्तले बताउनुभयो । भाइरसले प्लेटलेटलाई आक्रमण गरी रगत जम्ने प्रक्रिया अव्यस्थित गराई बाह्य तथा आन्तरिक रक्तस्राव बनाउँछ। क्लासिक डेंगु सामान्य प्रकारको हो र आफै निको हुन्छ भने डेंगु हेमोरेजिक ज्वरो वा डेंगु शक सिन्ड्रोममा उचित उपचार नगरे मृत्यु समेत हुने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका फिजिसियन डा आसिम किदवाईको भनाइ छ ।

सार्ने माध्यमः भीआईपी लामखुट्टे

सफा पानीमा बस्ने भएकाले यस लामखुट्टेलाई भीआईपी लामखुट्टे भनिन्छ। लामखुट्टेबिना मानिसबाट मानिसमा डेंगु रोग सर्दैन र सबै लामखुट्टेले टोक्दैमा पनि रोग लाग्दैन। बाघजस्तै टाटेपाटे देखिने भएकाले यसलाई टाइगर पनि भन्निछ । यस लामखुट्टेले रातीमात्र होइन दिउँसो पनि टोक्छ।

डेगुं फैलाउने लामखुट्टेले जिका, चिकनगुनिया, यलो फिवरसमेत सार्छ। जापनिज इन्सेफलाइटिस गराउने लामखुट्टेले कसैलाई टोके मर्छ भने डेगुं सार्ने लामखुट्टेले कम्तीमा १० जनालाई टोकेपछि अघाउँने चिकित्सकहरु बताउँछन् । डेंगु रोग सार्ने प्रमुख कारण संक्रमित लामखुट्टेको टोकाइ भएकाले यसको टोकाइबाटै जोगिन तथा लामखुट्टे निर्मूल गर्न जरुरी रहेको फिजिसियन डा पन्त बताउनु हुन्छ।

लक्षण
यस रोगमा लामखुट्टेले टोकेको अर्थात् भाइरस पसेको तीनदेखि सात दिनमा टाउको दुख्ने, आँखा पोल्ने, रुघाखोकी लाग्ने लक्षण देखिन्छन्। एक्कासि चिसोको अनुभूतिका साथ कम्पन हुने, उच्च ज्वरो आउने, तीव्र टाउको दुख्ने, आँखाको पछाडिको भाग, खुट्टा, मांसपेसी र जोर्नी दुख्न थाल्छ। चक्कर लाग्ने र कमजोरी महसुस हुन्छ।

संक्रमणको कडारूपमा ज्वरो आएको एक सातासम्म निको नभई रक्तस्रावका लक्षण देखा पर्छन । रक्तस्राव भई रक्तस्रावका धब्बा देखिने रगतको कमी भई अनुहार फुस्रो देखिने, पेट असाध्यै दुख्ने, पसिना आउने, ढाड दुख्ने, मुख नीलो हुने, शरीरमा पानी जम्मा हुने, रगतमा अल्बुमिनको मात्रा घट्ने, दिसा कालो हुने र कलेजोमा असर पर्न सक्छ। डेंगु हेमोरेजिक ज्वरो वा डेंगु शक सिन्ड्रोममा संक्रमितको ज्यान नै जाने जोखिम हुने फिजिसियन डा किदवाई बताउँनुहुन्छ ।

उपचार
डेगुंका बिरामीले हरेक चार घन्टामा पिसाब लाग्ने गरी पानीलगायत झोल पदार्थ सेवन गर्दा रोगको लक्षणमा धेरै राहत मिल्छ। बढी मात्रामा झोलिलो खानेकुरा, तरल पदार्थ र आराम गर्न लगाउनुपर्छ। संक्रमण भाइरल भएकाले यसको रामवाण औषधि र उपचार नहुने फिजिसियन डा किदवाईले बताउनुभयो । जटिलता रोक्न लाक्षणिक उपचार मात्र गरिने उहाँको भनाइ छ ।

रोकथाम
घर नजिकै रहेका खाल्डाखुल्डी र पानी जम्ने ठाउँ पुर्नु पर्छ । घरका झ्यालढोकामा मसिनो जालीको प्रयोग गर्ने, सुत्दा कीटनाशक झुलको प्रयोग गर्ने, पंखा, एयरकुलर, एयरकन्डिसन प्रयोग गर्नुपर्छ। जाली र झुलको व्यवस्था हुन नसक्ने ठाउँमा लामखुट्टे भगाउने धूप, झोलको प्रयोग गर्ने, घरबाहिर जाँदा शरीरको खुला भागमा लामखुट्टे धपाउने मलम प्रयोग गर्ने घरमा बस्दा पूरै शरीर ढाकिने गरी लामो बाहुला भएको कपडा लगाउनु पर्ने फिजिसियन डा शाहले बताउनुभयो ।

जनचेतनामा अभिवृद्धि गर्नुपर्ने उहाँको सुझाव छ । मानिसबाट मानिसमा नसर्ने भएकाले डेंगु रोग सार्ने प्रमुख कारण संक्रमित लामखुट्टेको टोकाइ भएकाले लामखुट्टेको टोकाइबाटै जोगिनु तथा लामखुट्टे निर्मुल गर्नु समग्रमा रोकथामको उपाय भएको डा शाहले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x