गर्भपतनसम्बन्धी नयाँ कानुनी प्रावधानविरुद्ध प्रदर्शन
फाइल तस्बिर
पोल्याण्डमा गर्भपतनसम्बन्धी जारी गरेको नयाँ कानुनी प्रावधानविरुद्ध विशाल प्रदर्शन भएको छ।
शुक्रबार दिउँसाे र राति हजारौं मानिसहरुले नयाँ कानुनी प्रावधानले महिलाका माैलिक अधिकार खाेसेकाे भन्दै प्रदर्शन गरेका हुन् ।
पोल्याण्डमा यूरोपका कतिपय देशको तुलनामा यसअघि नै गर्भपतनसम्बन्धी कडा कानुन विद्यमान रहेको थियो । तर बिहीबारका दिन संवैधानिक अदालत (प्राधिकरण)ले यसअघिका प्रावधानलाई झनै कसिलो बनाएको हो । यो अदालतमा अधिकांश सदस्य सत्तारुढ पार्टी निकटका रहेको द गार्जियनले उल्लेख गरेको छ ।
नयाँ प्रावधान अनुसार, गर्भमा शिशुको विकास हुन नसकी आमाको स्वास्थ्यमा असर पर्ने अवस्थामा मात्रै गर्भपात गर्न मिल्ने छ । तर यो प्रावधानले स्वास्थ्यमा जटिलता हुने कतिपय अन्य अवस्था र सामान्य अवस्थामा समेत बच्चा जन्माउने या नजन्माउनेसम्बन्धी महिलाहरुको ‘छनेटको अधिकार’ कुण्ठित गरेको भन्दै प्रदर्शन उग्र भएको हो ।
बिबिसीका अनुसार, विद्यमान कानुनी जटिलताका कारण वैधरुपमा हरेक वर्ष जम्माजम्मी दुई हजार गर्भपतनका घटना हुने भएपनि अवैधरुपमा भने हरेक वर्ष दुई लाख बढी असुरक्षित गर्भपतन हुने गर्दछन् ।
दि गार्जियनका अनुसार, बिहीबार नयाँ संशोधन जारी भएपछि शुक्रबार बिहानैदेखि राजधानी वार्सा, पोज्नान, रोक्लअ, क्राको लगायतका कैयन सहरमा विशाल प्रदशर्नन भएका हुन् ।
सरकारले कोरोना भाइरस संक्रमणका कारण मुख्य सहरहरुमा १० जना भन्दा बढी जम्मा हुन नपाइने गरी निर्देशन दिएको भएपनि प्रदर्शनकारी भने हजारौंको संख्यामा जुलुसमा सहभागी भएका छन् ।
शुक्रबार बिहान वार्साका गृह राज्यमन्त्रको घरबाहिर प्रदर्शनकारी र प्रहरीबीच हिंश्रक झडपसमेत भएको बिबिसीले जनाएको छ । तर साँझ उनीहरु फेरी मन्त्री निवासअघि जम्मा भएर प्रदर्शन गरेका थिए ।नयाँ पत्रिका



