गुलरिया नगरपालिकाको ९ र १० वडालाई औपचारिक रुपमा बालविवाहमुक्त क्षेत्र घोषणा
प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बीईई ग्रुपको सहकार्यमा आयोजित एक भव्य समारोहमा गुलरिया नगरपालिकाको ९ र १० वडालाई औपचारिक रुपमा बालविवाहमुक्त क्षेत्र घोषणा गरिएको हो । वडा नम्बर ९ का अध्यक्ष हरिप्रसाद पासवानको अध्यक्षतामा भएको कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव प्रमुख अतिथिको रुपमा रहेका थिए । विशेष अतिथिको रुपमा LCRC संयोजक श्रीमती सावित्रा गौतमको उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, वरिष्ठ अधिकृत मुकुन्द अर्याल र गुलरिया नगरपालिकाको महिला तथा बालबालिका इकाई प्रमुख श्रीमती शीला शाहको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष, राजनीतिक तथा धार्मिक अगुवा, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य वक्ताले गुलरिया नगरपालिकालाई २०८१ सम्ममा बालविवाह मुक्त क्षेत्र बनाउने लक्ष्यका साथ वडा ९ र १० मा मात्र नभई नगरपालिकाभर बालविवाह उन्मूलनका लागि आफ्नो प्रतिबद्धता दोहोर्याए ।
श्रीमती शीला शाहले बालविवाह न्यूनीकरणका लागि सरकार र संस्थागत प्रयासहरू प्रकाश पार्दै विस्तृत प्रतिवेदन प्रस्तुत गरे भने कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले बर्दिया जिल्लामा बालअधिकारको विकासमा सरोकारवालाहरूको अमूल्य योगदानको कदर गरे।
कार्यक्रममा लगभग 600 सहभागीहरूलाई आकर्षित गर्दै जीवन्त सांस्कृतिक प्रदर्शनहरू पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमको संचालन कार्यक्रम अधिकृत ईश्वर विकले गरेका थिए भने कार्यक्रममा बियुसीका सामाजिक परिचालन अधिकृत धिरजकुमार चौधरीले सक्रिय सहयोग गरेका थिए ।




