१४ आश्विन २०८३, बुधबार

चिनमा नक्कली कोरोना विरुद्धको खोप उत्पादन करोडौंको ठगी

एसीपी संवाददाता

५ फाल्गुन २०७७, बुधबार ०५:०५ मा प्रकाशित

बेइजिङ — चीनमा पानी र सलाइनलाई कोरोना भाइरसको खोपका रूपमा प्रयोग गरेर लाखौं डलर कमाउने एक जना पक्राउ परेका छन्

कङ नाम दिइएका ती व्यक्तिले वास्तविक खोपको अनुसन्धान गरेपछि ५८ हजार नक्कली खोप बनाएर बिक्री गरेका थिए । अधिकारीहरूले तीमध्ये केही मात्रा खोप चीनबाहिर पनि तस्करी गरिएको जनाएका छन् । तर ती नक्कली खोप कुन देशमा पुर्‍याइयो भन्नेबारे केही उल्लेख गरिएको छैन ।
हालसम्म नक्कली खोप बनाएको र बिक्री गरेको आरोपमा चीनमा कम्तीमा ७० जना पक्राउ परिसकेका छन् । उनीहरू विभिन्न २० वटा घटनासँग सम्बन्धित रहेका जनाइएको छ ।

नक्कली खोप निर्माण गर्ने र बिक्री गर्नेमाथि चीनले कडा कारबाही गर्ने जनाइरहेका बेला पछिल्लो समाचार सार्वजनिक भएको हो । यस्ता घटनाहरू सन् २०२० को अन्त्यतिर नै प्रकाशमा आएका भए पनि पछिल्ला साताहरूमा मात्रै विस्तृत जानकारी आएको हो । बेइजिङस्थित एक अदालतको आदेशअनुसार कङ र उनको समूहले कोरोना भाइरसको खोपका रूपमा पानी र सलाइन पानी बेचेर अगस्टयता मात्रै २७ लाख ८० हजार अमेरिकी डलर कमाएका छन् । त्यस्ता खोपहरू अन्य देशमा पठाउनुअघि ६ सय मात्र नोभेम्बरमा हङकङमा पठाइएको समेत बताइएको छ ।

कङ र उनको समूहले उत्पादन कम्पनीबाट ‘भित्री संयन्त्रमार्फत’ ती खोप पाइएको भन्दै खोप बिक्री गरेका बीबीसीले जनाएको छ । उनीहरूले आपूर्ति गरेका खोप केही अस्पतालमा निकै महँगो मूल्यमा बिक्री गरिएको पनि जनाइएको छ । त्यसैगरी नक्कली खोपको निर्माण तथा बिक्रीसँग सम्बन्धित अन्य आरोपितहरूले स्थानीय चिकित्सकमार्फत विभिन्न मानिसलाई उनीहरूका घर र कारमा नक्कली खोप लगाइदिएका खुलेको छ ।

चीनले कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान सुरु गरिसकेको छ । अधिकारीहरूले चिनियाँ नयाँ वर्षअघि नै १० करोड खोप लगाउने योजना सार्वजनिक गरेका थिए । तर हालसम्म ४ करोडलाई मात्र खोप दिइएको छ । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1
0
Would love your thoughts, please comment.x
()
x