३ श्रावण २०८३, आईतवार

चिनियाँ ठेकेदार कम्पनीको लापरबाहीले २० महिनामा जम्मा २ प्रतिशत काम

एसीपी संवाददाता

१६ मंसिर २०७७, मंगलवार ०९:५८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटबल–नारायण सडक विस्तार आयोजनाको निकै तामझामसहित शिलान्यास गरेका थिए। तर, प्रधानमन्त्री आफैं उपस्थिति भएर सडक विस्तार आयोजनाको शिलान्यास गरेको पनि २० महिना बितिसक्यो। तर,आयोजनाको निर्माणगति भने लज्जास्पद देखिन्छ। अझै ठेक्का सम्झौता भएको मिति हेर्ने हो भने त दुई वर्ष पुग्नै लागिसक्यो। तर, आयोजनाको भौतिक प्रगति भने केबल दुई प्रतिशतमा मात्रै सीमित छ।

सरकारले दुई लेनको पूर्व–पश्चिम (महेन्द्रराजमार्ग) अन्तर्गतको पहिलो चरणमा बुटबल– नारायणगढ सडकलाई चार लेनको सडक बनाउने योजनासहित सडक विस्तार गरेको हो।तर, चिनिया ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पाेरेसन, आयोजना निर्देशनालय (एडिबी) र सडक विभागको लापारवाही र ढिलासुस्तीकै कारणले झण्डै दुई वर्षको अवधिसम्म पनि आयोजनाको प्रगति जम्मा २ प्रतिशतमा मात्रै सीमित देखिएको छ।

४२ महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी आयोजना निर्देशनालय एडिबी र चिनियाँ ठेकेदार कम्पनीबीच २०७५ पुसमा करिव १७ अर्बको लागतमा एक सय १५ किलोमिटर सडक विस्तार गर्ने ठेक्का सम्झौता भएको थियो। तर, समयमै साइट क्लिियर गर्न नसक्दा आयोजनाको ठेक्का सम्झौताको दुई वर्ष लगभग बित्दासमेत आयोजनाको भौतिक प्रगति भने दुई प्रतिशतमा नै रोकिएको छ।

आयोजना निर्देशनालय (एडिबि)का निर्देशक दिपक श्रेष्ठले आयोजनाको भौतिक प्रगति दुई प्रतिशत मात्रै भएको बताए।‘ठेकेदार मुबिलाइजेसन भएपनि रुख कटानको विवाद, साइट क्लिरेन्स नहुनु, कोभिड १९ लगायतका विविध कारणले अपेक्षित ढंगले सडक निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन।’ उनले भने। निर्देशक श्रेष्ठले साइट क्लिियर नहुदै आयोजना निर्माण सुरु गरेकोले पनि अपेक्षित गतिमा उपलब्धी हात पार्न नसकेकेको बताए।‘चिनिया नयाँ वर्ष मनाउन गएका कामदार कोभिड १९को कारणले लामो समयसम्म फर्किन पाएनन्,’ उनले भने,‘अहिले विस्तारै चिनियाँ कामदार आउन थालेसँगै निर्माण कार्य सुरु भएको छ।’ अहिले नारायणगढदेखि बुटबल जाने सडक अहिले नारायणगढदेखि दाउन्नेसम्मको सडक लथालिंग अवस्थामा रहेका छन्।

पहिला करिव एक घण्टामा पुगिने सो सडकखण्डमा अहिले करिव चार घण्टासम्म लाग्ने गरेको छ। उनले पछिल्लो समय ठेकेदार कम्पनीले काम सुरु गरेको दावी गरे। यो आयोजना एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण गर्न लागिएको हो। नारायण दाउन्ने ६५ किलोमिटर र दाउन्ने बुटबल थप ५० किलोमिटर गरेर एक सय ११५ किलोमिटर सडक चार लेनमा विस्तार गर्नलागिएको हो।

आयोजनाको निर्माण सुरु भएको आधा समय बित्दा समेत आयोजनाको भौतिक प्रगति अत्यन्तै न्यून भएकाले तोकिएको समयभित्रै निर्माण सम्पन्न नहुने लगभग निश्चित जस्तै छ। आयोजनाका इन्जिनियर रुपकराजभण्डारीले बुटबलदेखि नारायणगढ खण्डको सडक विस्तार गर्दा करिव ३० हजार रुख कटान गर्नुपर्ने काम अझै नसकिएको बताए।‘यो सडक खण्ड विस्तार गर्दा करिव ३० हजार रुख कटान गर्नुपर्ने हुन्छ,’ उनले भने,‘रुख कटान कार्य अघि बढाउन वनविभागसँग समन्वय भइरहेको छ।’ आयोजनाका अनुसार अहिलेसम्म करिव ६ हजारभन्दा धेरै रुख कटान भइसकेको छ। नागरिकन्युज बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x