चीनको प्रयासले पार्टी विभाजन नरोकिने-सत्यनारायण मण्डल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले चीनको प्रयासले पार्टी विभाजन नरोकिने बताएका छन् ।
पछिल्लो केही दिन यता चीनका राजदूत र चिनीयाँ कम्युनिस्ट पार्टीका नेताहरु काठमाडौंमा नेकपाका शीर्ष नेतालाई भेटेर पार्टी विभाजन रोक्न सक्रिय रहेको प्रति इङिगत गर्दै मण्डलले नेकपाको विवाद मिलाउने चीनको प्रयास र प्रयास असफल हुने दाबी गरे ।
वीरगन्जमा मङगलबार नेकपाको केपी ओली समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपाको प्रदेश २ का इन्चार्ज समेत रहेका मण्डलले भने, ‘नेकपा फुटिसक्यो, अब चीनले जति नै प्रयास गरेपनि पार्टी एक हुँदैन ।’
चीनले नेकपा र नेपालको हितमा नभइ आफनो स्वार्थ पूर्तिका लागि विवाद गरेको उनको भनाइ छ ।
पार्टी विभाजनको औपचारिक सन्देश दिन वीरगन्जमा बुधबार नेकपाले पहिलो प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गर्न लागेको जानकारी पनि उनले दिए । उनले भने, ‘बुधबारको भेलाले पार्टी विभाजनको औचित्य र सन्देश दिनेछ । त्यसपछि आगामी कार्यक्रम घोषणा गर्छौ ।’
बुधबारको भेलालाई पार्टीका महासचिव एवम् अर्थमन्त्री विष्णु पटेल, शहरी विकासमन्त्री प्रभु साह , कानुनमन्त्री लीलानाथ श्रेष्ठ, महिला तथा बालबालिकामन्त्री जुली महत्तो, स्थायी कमिटी सदस्य रघुवीर महासेठ लगायतका नेताले सम्बोधन गर्नेछन् ।
भेलामा प्रदेश २ का करिब १५ हजार नेता कार्यकर्ता सहभागी हुने मण्डलले बताए । नेकपा अन्य कुनै राजनीतिक शक्ति वा बाह्य कारणले नभइ नेकपाकै आन्तरिक कारणले विभाजन हुन पुगेको पनि उनले स्वीकार गरे ।
मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीले रहरले नभइ बाध्यताले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेको बताए ।
नेकपाका केही नेताले आफनो स्वार्थ र पदको लागि नेपाललाई असफल राष्ट्र बनाएर अन्तै विलय गराउने षडयन्त्र गरेकाले त्यो षडयन्त्र विफल पार्न नै प्रधानमन्त्री ओलीले बाध्यतावश पछिल्लो कदम चाल्नु परेको मण्डले बताए ।
प्रधानमन्त्री ओली संघीयता र लोकतन्त्रको विरोधी नभइ रक्षक भएको जिकीर पनि उनले गरे । अन्नपूर्णपोस्ट बाट


