२ श्रावण २०८३, शनिबार

चीनमा इन्टरनेट कम्पनीहरू माथी आंशिक नियन्त्रण गर्ने सङ्केत

एसीपी संवाददाता

२७ कार्तिक २०७७, बिहीबार ०४:११ मा प्रकाशित

प्रस्तावित व्यवस्थाले डिजिटल माध्यमप्रति बेइजिङको बढ्दो असहजतालाई सङ्केत गर्छ। चीनभित्रै विस्तार भएका अग्रणी प्रविधि कम्पनीहरू अलिबाबा, एन्ट ग्रुप, टेन्सेन्ट र खानेकुरा आपूर्ति गर्ने मिटुआनलाई नयाँ नियमले प्रभावित बनाउनेछ।

युरोपेली सङ्घ र अमेरिकाले पनि ठूला इन्टरनेट कम्पनीका शक्तिलाई नियन्त्रण गर्ने प्रयास अघि बढाइरहँदा चीनको पछिल्लो प्रस्ताव आएको हो।मङ्गलवार नयाँ नियम प्रस्ताव गरिएपछि अलिबाबा र जेडी डट कमको सेयर मूल्य घटेको छ। ‘सिङ्गल्स डे’ भनिने वर्षको सबैभन्दा ठूलो अनलाइन किनमेलको दिनको तयारी भइरहँदा यो खबर आएको हो।

नयाँ नियमले के गर्छ?

बजार नियमन गर्ने निकायले तयार पारेको २२ पृष्ठको मस्यौदामा पहिलोपटक गैरप्रतिस्पर्धी व्यवहारलाई परिभाषित गर्न खोजिएको छ।नयाँ नियमले कम्पनीलाई उपभोक्ताका सम्वेदनशील सूचनाहरू आदानप्रदान गर्न, साना प्रतिस्पर्धीविरुद्ध मिलेर अघि बढ्न र प्रतिस्पर्धालाई निस्तेज बनाउन घाटा खाएर बिक्रीवितरण गर्न रोक्ने प्रयास गरेको छ।

ती नियमले व्यवसायमा विशेष व्यवस्थाहरू घोषणा गर्न बाध्य पार्ने अनलाइन माध्यमलाई कस्ने उद्देश्य बोकेको छ। अलिबाबामाथि व्यापारी र प्रतिस्पर्धीले त्यस्तो आरोप लगाउने गरेका थिए। उपभोक्तालाई उनीहरूका तथ्याङ्क र खर्च गर्ने आनीबानीका आधारमा व्यवहार गर्ने कम्पनीहरूलाई पनि नयाँ नियमले निशाना बनाउनेछ। चिनियाँ बजार नियमन गर्ने निकाय एसएमआरले यो महिनाको अन्त्यसम्म एन्टीट्रस्ट भनिने स्वस्थ्य प्रतिस्पर्धा सुनिश्चित गर्ने निर्देशिकामा सुझाव मागेको छ।

प्रभावशाली कम्पनी कुन हुन्?

अलिबाबा र जेडी डट कमले चीनको खुद्रा बजारमा आफ्नो प्रभुत्व कायम गरेका छन्। उनीहरूले चीनको ई-कारोबारको झण्डै ७५ प्रतिशत ओगट्छन्।

सेप्टेम्बर महिनासम्म अलिबाबाले आफूसँग मासिक ८८ करोड १० लाख सक्रिय मोबाइल प्रयोगकर्ता रहेको बताइरहेको थियो। उक्त सङ्ख्या चीनको कूल जनसङ्ख्याको आधाभन्दा बढी हो।

बेइजिङले अलिबाबासँग आबद्ध रहेको एन्ट ग्रुपसँग अलग्गै चासो राखेको छ। नियामक निकायले अनलाइनमार्फत कर्जा दिने संस्था बलियो बन्दै गएको र त्यसले बृहत आर्थिक प्रणालीलाई नै प्रभाव पार्न सक्ने बताएपछि उक्त समूहको सेयर खोल्ने योजना रद्द भएको थियो। एन्टसँग झण्डै १.३ अर्ब प्रयोगकर्ता छन् जसमध्ये अधिकांश चिनियाँ हुन्। चीनमा देशकै सबैभन्दा प्रभावशाली डिजिटल पैसा भुक्तानी गर्ने प्रणाली अलीपे एन्टले सञ्चालन गर्छ।

विश्वव्यापी माहौल

इन्टरनेट कम्पनीहरूको विस्फोटक विस्तारप्रति चिन्ता व्यक्त गर्नेमा चिनियाँ एक्लै छैनन्। युरोपेली सङ्घले जर्मनी र फ्रान्समा आफ्नो शक्तिको दुरूपयोग गरेको आरोपमा अमेजनविरुद्ध अभियोग नै दायर गरेको छ। यसैबीच अमेरिकी अधिकारीहरूले इन्टरनेटमार्फत् खोजी गर्ने सर्च इन्जिनका रूपमा गुगलले कायम गरेको प्रभुत्वविरुद्ध कानुनी कदम चालिरहेका छन् । अमेरिकी न्याय मन्त्रालयले प्रविधिसम्बन्धी उक्त अग्रणी कम्पनीले इन्टनेटमार्फत् हुने खोजीमा एकाधिकार कायम गरेको आरोप लगाएको छ।बीबीसीबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x