१० असार २०८३, बुधबार

चीनमा कोभिडबाट मृत्यु हुनेको संख्या अधिकारिक भन्दा बढी

एसीपी संवाददाता

२६ फाल्गुन २०७९, शुक्रबार ०९:३१ मा प्रकाशित

आधिकारिक संख्या मृत्युको वास्तविक संख्याभन्दा उल्लेखनीय रूपमा नै कम भएकोमा शंका छैन । चिकित्सकहरूलाई मृत्युको प्रमाणपत्रमा कोभिड उल्लेख नगर्न भनिएको थियो भने घरमा भएका मृत्युलाई पनि कोभिडबाट भएका मृत्युको सूचीमा समावेश गरिएको छैन । अस्पताल र समाधिस्थलमा देखिएका भिडका रिपोर्टले पनि मृत्युको संख्या आधिकारिक आँकडाभन्दा निकै बढी रहेको संकेत गर्छन् । संक्रमणको पछिल्लो लहरको वास्तविक प्रभाव अनुमान गर्न द इकोनोमिस्टले मृत्युको विश्वसनीय संख्या सार्वजनिक गरेका स्थानहरूको तथ्यांक केलाएको छ ।

मकाउ र हङकङ दुवै चीनको विशेष प्रशासनिक क्षेत्र (एसएआर) हुन् । यी दुवैले कोभिडको व्यवस्थापन एवं जीवनरक्षाका लागि मुख्य भूमिकैजस्तो सामूहिक परीक्षण, कडा प्रतिबन्ध र एकाएक शून्य कोभिड नीति परित्यागकै शैली अपनाए । तर, मुख्य भूमिले जस्तो चीनका यी विशेष प्रशासनिक क्षेत्रले मृत्युको आँकडा लुकाएका छैनन् । यसबाट शून्य कोभिड नीति हटाउँदाको प्रभाव आकलन गर्न सजिलो भएको छ, (तर, यो अझै पनि अपूर्ण अनुमान नै हो । किनभने चीन, हङकङ र मकाउमा खोप, डेमोग्राफिक्स (जनसांखिकीय), स्वास्थ्य हेरचाह प्रणाली तथा जनघनत्वको स्थितिमा समानता छैन) ।

मकाउ र मुख्य भूमिले गत डिसेम्बरको सुरुवातबाट कोभिडका प्रतिबन्ध हटाइए । यो नीति परिवर्तनको प्रभाव मापन गर्न मृत्युका आँकडाको लेखाजोखा गरिएको छ (सामान्य वर्षको तुलनामा भएका अतिरिक्त मृत्युको संख्यालाई केलाइएको छ) । मकाउमा डिसेम्बर महिनामा अन्य महिनाको औसतभन्दा चार गुणा बढी मानिसको मृत्यु भएको थियो । यसबाट डिसेम्बरमा उक्त टापुमा करिब ६ सय व्यक्तिको कोभिडका कारण मृत्यु भएको आकलन गर्न सकिन्छ । मकाउको आवादी सात लाखभन्दा कम छ । तर, मृत्युको यो अनुमानित संख्या प्रतिशतका हिसाबले यो महामारीमा विश्वको अहिलेसम्मकै सबैभन्दा बढी हो । हङकङले भने कोभिडका अधिकांश प्रतिबन्ध डिसेम्बरको अन्तबाट मात्रै खोलेको हो ।

यहाँ संक्रमण र मृत्युको सबैभन्दा ठूलो लहर सन् २०२२ को फेब्रुअरीमा सुरु भएको थियो । मार्चसम्ममा अपेक्षितभन्दा तीन गुणा बढीको मृत्यु भइसकेको थियो । यसले फेब्रुअरी १ देखि मे २ को बीचमा हङकङमा १० हजार अतिरिक्त मृत्यु भएको देखाउँछ । यहाँ मुख्य भूमि चीनले केही प्रतिबन्ध हटाइदिएपछि नोभेम्बरबाट दोस्रो लहर सुरु भयो । यस अवधिको मृत्युको संख्या भने हङकङ सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन । तर, हाम्रो मोडलिङको आकलनअनुसार नोभेम्बर ७ देखि फेब्रुअरी २ का बीच हङकङमा दुईदेखि पाँच हजार अतिरिक्त मृत्यु भएको हुन सक्छ ।

यो विधिलाई सामान्य वर्षमा एक करोड मानिसको मृत्यु हुने मुख्य भूमि चीनमा प्रयोग गर्दा डिसेम्बरमा मुख्य भूमिमा १४ देखि २४ लाख अतिरिक्त मानिसको मृत्यु भएको हुन सक्ने देखाउँछ । यो तथ्यांक अपूर्ण भए पनि अन्य तथ्यांकभन्दा चाहिँ बढी विश्वसनीय छ । अध्येताहरूले ६ देखि २३ लाखसम्मको मृत्युको आँकडा प्रस्तुत गरेका छन् । हाम्रो मोडलिङले भाइरस अनियन्त्रित रूपमा फैलिएको अवस्थामा डिसेम्बर महिनामा १४ लाख चिनियाँहरूको मृत्य हुने देखाएको थियो ।

मकाउ, हङकङ र अन्य विभिन्न भेरिएबल्सबाट प्राप्त तथ्यांक प्रयोग गरिएको हाम्रो ग्लोबल एक्सेस डेथ मोडेलले सन् २०१९ बाट महामारी सुरु भएयता चीनमा महामारीले एक लाख ८० हजारदेखि २७ लाख मानिसको ज्यान लिएको हुन सक्ने देखाउँछ (चीनको तथ्यांकलाई हेर्दा मृत्युको दायरा फराकिलो हुन सक्छ) । यसको अर्थ चीनमा कोरोनाबाट भएका मृत्युको वास्तविक संख्या आधिकारिक गणनाको दुईदेखि ३० गुणासम्म हुन सक्छ ।
–द इकोनोमिस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x