जब वी.पी.कोइरालालाई संसदीय दलको नेता चुन्ने प्रस्ताव राखे
वि.सं.२०१६ साल वैशाख २१ गते सुवर्णशम्शेर राणाको निवासस्थानमा नेपाली कांग्रेसका प्रमुख नेताहरू र निर्वाचित संसद् सदस्यहरूको पहिलो बैठक बसेको
थियो । बैठकमा सुवर्णशम्शेर राणाले “आजभन्दा पहिले हाम्रो एकतालाई बिगार्न अनेकन प्रलोभन भएथे, हामी डगेनौं । आज पनि हामी उत्तिकै सुसंगठित छौं । यो सबै हाम्रा सभापतिजीको सही नेतृत्वको प्रमाण हो” भन्ने उल्लेख गर्दै वी.पी.कोइरालालाई संसदीय दलको नेता चुन्ने प्रस्ताव राखेका थिए । प्रस्तावको समर्थन गणेशमान सिंहले गरेका थिए । वी.पी.लाई सर्वसम्मतिबाट संसदीय दलको नेता बनाइयो । त्यसपछि गणेशमानले संसदीय दलको उपनेता पदमा सुवर्णशम्शेरको नाम प्रस्ताव गरे । यो प्रस्तावको समर्थन रामनारायण मिश्रले गरेपछि सुवर्णशम्शेर राणा पनि सर्वसम्मतिबाट उपनेता चुनिए ।बहुमत प्राप्त दलको संसदीय नेतालाई नै प्रधानमन्त्री बनाउने संसदीय परम्परा अनुसार सरकार बन्ने प्रक्रिया अघि बढ्यो । श्री ५ महेन्द्रबाट जेठ १ गतेका दिन वी.पी.कोइरालालाई उनको प्रधानमन्त्रीत्वमा १५ दिनभित्र नयाँ मन्त्रिमण्डल गठन गर्न पर्ने भएकाले मन्त्रिमण्डलका सदस्यहरूको नाम पेश गर्न र संसद्को पहिलो बैठक कहिलेसम्म होस् भन्ने सल्लाह छ सो समेत यकिन गरी जाहेर गर्न पत्र दिइयो । जेठ ४ गते वी.पी.कोइरालाले मन्त्रिमण्डलको सूचीसहित डेढ महिनाभित्र संसद्को धिवेशन बोलाउने सिफारिस श्री ५ मा पेश गरेका थिए।
गणेशराज शर्मा (सं क.),विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृतान्त।


