३ असार २०८३, बुधबार

टिकापुर घटनाको मुख्य दोषीको हो बताई दिनुश न प्रधानमन्त्री ज्यु ? थारु नेता

एसीपी संवाददाता

३ माघ २०७७, शनिबार १७:३१ मा प्रकाशित

गत पुस २ गते उच्च अदालत दिपायलले जन्मकैद सजाय सुनाएपछि थरुहट नेता लक्ष्मण थारुसहितका नेताहरु अर्धभूमिगतशैली अप्नाउन थालेछन्।

यसअघि जिल्ला अदालत कैलालीबाट सफाई पाएका उनीहरुलाई जन्म कैद सजाय हुने फैसला सुनाएपछि फैसला अमान्य रहेको भन्दै अर्धभूमिगतशैली अप्नाएका हुन्। फैसलापछि आत्मसमर्पण गरिन्न भनेर अभिव्यक्ति दिदै आएका उनीहरु५ हाल अर्धभूमिगत देखिएका छन्।

शनिबार कैलालीको अज्ञात स्थलमा पत्रकार सम्मेलन गरेका उनीहरुले अब अर्को विद्रोहको तयारीमा जुटेको उद्घोष गरेका छन्।

थरुहट/थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक समेत रहेका लक्ष्मण थारुले उच्च अदालतको फैसलाले अधिकार र पहिचानको आन्दोलनको क्रममा थाली र्र्यालीमा सहभागी, महिलाहरुको र्यालीलाई पनि आपराधिक ठहर गरेको बताउँछन्।

उच्च अदालत दिपायलको फैसला देखाउँदै नेता थारुले भने, “महिलाहरुले निकालेको शान्ति र सद्भावपूर्ण थाली र्यालीलाई पनि शान्ति विरोधी भनेर उच्च अदालतले फैसला गरेको छ। यो फैसलाले बम बन्दुक उठाउँ भन्छ। गैरसंवैधानिक काम गर भन्दैछ। तिमीहरु नेपाली होइनौ भन्छ।”

नेता थारुले उच्च अदालतको १७९ पेजको सो फैसला न्यायधीश टेक नारायण कुवँर र सीताराम मण्डलको विवेकले भन्दा सिंहदरबार निर्देशनमा भएको भएको भन्दै आक्रोश व्यक्त गरे। उनले सो फैसला जलाउन मात्रै बाँकी रहेको चेतावनी दिए।
उनले अगाडि थपे, “अदालतलाई हामी भगवान मान्थ्यौ तर अहिले फैसलाले दुखी बनायो। अब हामी सर्वोच्च अदालत जाँदैछौ, विश्वासका साथ।”

‘निर्णायक विद्रोह’
नेता थारुले सरकार र अदालतको फैसला विरुद्ध निर्णायक विद्रोहको तयारीमा रहेको चेतावनी दिएका छन्।

तयारी स्वरुप थरुहट मोर्चाले ३ बुँदे निर्णय गरेको भन्दै उनले अब निर्णायक विद्रोहको विकल्प नभएको समेत खुलाए।

“हामीले पहिलो निर्णयको रुपमा थरुहट आन्दोलनबारे सरकारले सुनोस्, सामाजिक न्यायको लागि गम्भीर बनोस् भनेर आग्रह गरेका छौ”, उनले भने, “दोस्रो निर्णयको रुपमा अब निर्णायक विद्रोहको तयारीमा छौ। हतियार र बम बिनाको विद्रोह, मारकाट विनाको विद्रोहको तयारीमा छौ।”

विद्रोहको तयारी स्वरुप मोर्चाको केन्द्रीय समितिका प्रवक्ता मीनराज चौधरीको संयोजकत्वमा १०१ सदस्यीय केन्द्रीय आन्दोलन परिचालन समिति समेत गठन गरेको उनले बताए।

उनले भने, “हाम्रो तेस्रो निर्णय अन्तरगत २०७७ फागुन १५ र १६ गते थरुहट युवा शक्ति, थरुहट महिला मोर्चा, थरुहट विद्यार्थीहरुको राष्ट्रिय विशेष सम्मेलन धनगढीमा गर्दैछौ। डेससहित ५० हजारको सख्यामा धनगढी बजारमा जनप्रदर्शनसहित सम्मेलन गर्दैछौ। सम्मेलनपछि विद्रोहमा जान्छौ।”

अन्ततः आफुहरुको विद्रोहको अन्तिम लक्ष्य कञ्चनपुरदेखि नवलपरासीसम्मको भूगोललाई थरुहट बनाउने रहेको र जसबाट मात्रै सामाजिक र राजनीतिक न्याय प्राप्ति हने उनको तर्क छ।

उच्चको फैसलापछि सरकारले वार्तामा बोलाउँदैछ, हामी जाँदैनौः थारु

Laxman_tharu.jpg

उच्च अदालतको फैसलापछि सरकारले आफुहरुलाई वार्ताको लागि बोलाउन थालेको थरुहट नेताहरुले खुलाएका छन्।
नेता थारुले भने, “आन्तरिक रुपमा वार्ताको लागि सरकारले हामीलाई बोलाएको छ। तर हामी विना तुकको वार्तामा जाँदैनौ।”

तपाईहरुको वार्ताको कुनै सर्त पनि छ र ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले थपे,‘हाम्रो कुनै सर्त छैन। अदालतलाई अगाडि उभ्याएर कानूनी रुपमा गाह्रो हुन्छ भनिरहेका छन्। हाम्रो सवाल, किन गाह्रो हुन्छ? २००७ मा काँग्रेसले गरेको विद्रोह राजनीतिक रुपमा समाधान भयो। माओवादीको शसस्त्र विद्रोह, २०२८ को झापा विद्रोहलाई राजनीतिक रुपमा समाधान गरियो। उनीहरुले पैसा लुटे, मान्छे मारे, हेलिकप्टर अपहरण समेत गरे। तर हाम्रो मान्यता यो होइन कि, उनीहरुले मान्छे मारे भन्दैमा हामीले पनि मान्छे मार्न पाउनुपर्छ। त्यो ठीक होइन । वास्तवमा हामीले मान्छे मारेकै छैनौ। हाम्रो हातबाट गल्ती भएकै छैन।’

यसैबीच पुस २४ गते धनगढीमा आयोजित जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनावारे दिएको अभिव्यक्तिबारे नेता थारुले टिप्पणी गरेका छन्।

प्रधानमन्त्री ओलीले हालै धनगढीमा आएर आफैले भने ‘नक्कली मान्छेले टीकापुर घटना घटाए।’ तपाईहरु पनि सुन्नुभयो। आखिर को हो त्यो घटना घटाउने ? हामीले पनि जान्न पाउनुपर्यो। नक्कली मान्छेले घटना घटाउने तर थारुहरुलाई जेल हाल्दिने ?”, नेता थारुले प्रश्न गरे, “थारुहरुलाई वारेन्टेट गरिदिने? यो भएन नि? आखिर त्यो घटनामा को अपराधी हो ? कसले घटना घटायो भन्नेबारे प्रधानमन्त्रीलाई त जानकारी सबै रहेछ। प्लिज प्रधानमन्त्री ज्यू, यसको जानकारी संसारलाई गराइदिनोस्।” दिनेशखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x