३२ असार २०८३, बिहीबार

ठमेल बचाऊ अभियान : चिनियाँ हस्तक्षेपविरुद्ध राष्ट्रिय एकता अभियानको रैली

एसीपी संवाददाता

३० माघ २०८१, बुधबार १७:५३ मा प्रकाशित

काठमाडौं, १२ फेब्रुअरी २०२५ — राष्ट्रिय एकता अभियान, काठमाडौंले ठमेल बचाउन तथा चिनियाँ व्यापारिक अतिक्रमण रोक्न आज ठमेलमा विशाल रैलीको आयोजना गरेको छ। “स्थानीय व्यापार जोगाऔं, चिनियाँ औपनिवेशिकरण रोकौं!” भन्ने नाराका साथ निकालिएको यो विरोध र्‍यालीमा स्थानीय व्यापारीहरूको व्यापक सहभागिता देखिएको थियो।

राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा भएको र्‍यालीमा सहभागीहरूले “ठमेलमा जबरजस्ती तिब्बतीकरण बन्द गर!”, “स्थानीय व्यापार जोगाऊ, विदेशी चलखेल हटाऊ!”, “चिनियाँ प्रभुत्व चाहिँदैन, हाम्रो ठमेल जोगाउनै पर्छ!”, “ठमेल हाम्रो, व्यापार पनि हाम्रो!”, “ठमेलको मौलिकता मेट्न पाइँदैन, नेपाली पहिचान जोगाउनै पर्छ!”, “स्थानीय उद्यमीलाई संरक्षण देऊ, विदेशी हस्तक्षेप बन्द गर!”, “ठमेललाई व्यापारिक उपनिवेश बनाउन पाइँदैन!”, “ठमेलका व्यापारीहरूलाई विस्थापित हुन दिनुहुँदैन!”, “ठमेललाई संरक्षण गर, नेपाली पहिचान धराशायी हुन नदेऊ!” जस्ता नारा लगाउँदै विरोध जनाए।

रैलीमा अभियानका केन्द्रीय सचिवालय प्रमुख चन्द्र यदुवंशी, केन्द्रीय सदस्य मनीष पुर्वे लगायत ठमेलका सयौं स्थानीय व्यापारी सहभागी थिए। रैली समापन गर्दै अध्यक्ष यादवले ठमेल काठमाडौंको प्रमुख पर्यटकीय व्यापारिक केन्द्र भए पनि स्थानीय व्यापारीहरूले व्यवसाय गर्ने वातावरण दिनुपर्नेमा उल्टै चिनियाँ प्रभाव बढ्दै गएको बताए। उनले ठमेलको तिब्बतीकरण तीव्र रूपमा भइरहेको र यसलाई रोकिएन भने स्थानीय व्यवसायीहरू विस्थापित हुनुपर्ने अवस्था आउने चेतावनी दिए।

उनले ठमेलको मौलिक पहिचान संरक्षण गर्न चीनको व्यापारिक दादागिरी रोक्नुपर्ने र विदेशी प्रभावका कारण नेपाली पहिचानलाई मेट्न नदिने संकल्प व्यक्त गरे। उनका अनुसार सरकारले समयमै हस्तक्षेप नगरे ठमेलको मूल व्यवसायीहरू पलायन हुने खतरा बढ्दै गएको छ।

यसअघि पनि राष्ट्रिय एकता अभियानले चीनको नेपालमा बढ्दो व्यापारिक अतिक्रमण तथा सीमा मिचाइको विरोध गर्दै आएका छन्। ठमेल क्षेत्रका स्थानीय व्यवसायीहरूले पनि चिनियाँ व्यवसायीहरूकै प्रभावले नेपाली उद्यमीहरू विस्थापित भइरहेका भन्दै सरकारलाई कडा कदम चाल्न आह्वान गरेका छन्।

प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो, तर सहभागीहरूले सरकारलाई स्पष्ट सन्देश दिँदै चिनियाँ प्रभुत्व अन्त्य नभएसम्म संघर्ष जारी राख्ने प्रतिबद्धता जनाएका छन्। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x